अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

संस्थापक अध्यक्ष उपेन्द्र महतोद्धारा एनआरएनएको नवौं बिश्व सम्मेलन बहिष्कार

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:५३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गर्नुभएको छ । आजबाट काठमाडौंमा सुरु भएको सम्मेलन महतोले बहिष्कार गर्नुभएको हो । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उदघाटन गर्नुभएको हो ।

संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै महतोले सम्मेलन बहिस्कार गरेको बताउनु भएको छ । ‘अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि सम्मेलनमा अनुपस्थित भएको हुँ,’ महतोले भन्नुभयो, ‘म चुनावविरोधी होइन तर चुनावमा जाने नै हो भने दलगत राजनीति हाबी हुन दिनुहुँदैन ।’ विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुने उहाँको भनाई छ ।

सम्मेलनको एक दिन अघि नै अध्यक्षका प्रत्यासी कुल आचार्यले महासचिवसम्म नेपाली कांग्रेसको उम्मेद्वार घोषणा गरेपछि महतो असन्तुष्ट बन्नुभएको थियो । एनआरएनएमा राजनीतिक गन्ध आए समाप्त हुने अडानमा महतो पहिलादेखि नै अडिग हुनुहुन्छ । ‘सबै क्षेत्रमा राजनीतिक दवदवा छ, कमसेकम एनआरएनए त्यसबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो, यसपटक त्यही पनि बाँकी नराख्ने भयो,’ महतोले भन्नुभयो ।

उहाँले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गर्नुभएको थियो । त्यतिबेला आफूले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेको स्मरण गराउनु भयो । ‘एनआरएनएको गर्विलो इतिहासमा दाग लगाउने काम कसैबाट हुनुहुँदैन,’ महतोले भन्नुभयो ।

महतो सन २००३ अक्टोवर ११–१३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनबाट संस्थापक अध्यक्ष चयन हुनुभएको थियो । संघको होटल हायातमा शुरु सम्मेलनमा ८१ देशका २५ सय प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनले आगामी दुई वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ । संघका उपाध्यक्षद्वय कुमार पन्तले वामपन्थी र कुल आचार्यले प्रजातान्त्रिक समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको छ । असोज ३० गतेसम्म चल्ने महावधिवेशनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्नेे भएपछि पन्त र आचार्य मैदानमा उत्रिनु भएको हो ।

अध्यक्ष पदका उम्मेद्वार पन्त र आचार्य दुवै गण्डकी प्रदेशका हुन । आचार्य पश्चिम नेपाल पर्वत, र पन्त गोर्खाका हुन । पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँ अघिल्लो सम्मेलनमै अध्यक्षको प्रत्यासी भएपनि सहमतिका लागि अन्तिम समयमा भवन भट्टलाई छाडेर उपाध्यक्ष पदमा बस्नुभएको थियो । महतोलगायत पूर्वअध्यक्षहरुको सुझाव मानेर पन्त यस सम्मेलनका लागि अध्यक्ष हुने मानसिकतासहित उपाध्यक्षमा बस्न राजी हुनुभएको थियो । यस्तै आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय रहेको छ ।

अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक र खुल्ला सदस्यको निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू