अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

अमेरिका र नेपाल सम्बन्धमा गलत बुझाई भयो– राजदूत बेरी

बिआरटीनेपाल २०७६ असोज १० गते ९:५६ मा प्रकाशित

नेपालस्थित अमेरिकी राजदूर्त यान्डी बेरीले पछिल्लो समय नेपाल– अमेरिका सम्बन्धमा देखिएको गलत बुझाइ (मिसअन्डरस्ट्यान्डिङ) ले आफू चिन्तित भएको बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत बेरीले पछिल्लो समय अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजी र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका परियोजनामा देखिएको गलत बुझाइले आफूलाई चिन्तित बनाएको उल्लेख गर्नुभयो ।

केही समयअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजीलाई तथाकथित भन्दै आफूहरू त्यसमा सहभागी नहुने बताउनुभएको थियो । कतिपयले इन्डो प्यासेफिक स्ट्राटेजीलाई हिन्द(प्रशान्त महासागर क्षेत्रमा रहेका मुलुकहरूलाई आफ्नो पक्षमा पारी चीनलाई अलग्याउन अमेरिकाले अघि सारेको रणनीतिका रूपमा अर्थ्याउँछन्। भदौ २४ गते प्रचण्डले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भएको भेटमा इन्डो प्यासेफिकको आलोचना गर्नुभएको थियो । प्रचण्डको उक्त आलोचनाको जानकारी पनि चिनियाँ विदेश मन्त्रालयले बेइजिङबाट जारी गरेको विज्ञप्तिमार्फत् सार्वजनिक भएको थियो।

राजदूत बेरीले इन्डो प्यासेफिकबारे नेपाली समाजमा रहेको त्यस्तोखाले बुझाइ गलत भएको स्पष्ट पार्नुभयो । ‘यो कुनै नयाँ कुरा होइन। ७० वर्षदेखि अमेरिकाले नेपालमा जे गरिरहेको छ, त्यसैको निरन्तरता हो,’ राजदूत बेरीले भन्नुभयो,‘हामीले कहिल्यै पनि नेपाललाई इन्डो प्यासेफिकमा हस्ताक्षर गर्न भनेका छैनौं, र भन्दैनौं पनि किनकी यसमा कुनै देशले हस्ताक्षर गर्नै पर्दैन।’ उहाँले हिन्द प्रशान्त क्षेत्रका देशमा खुला, उदार, समावेशी र विकसित समाज बनाउन इन्डो प्यासेफिक स्ट्राटेजीले काम गर्ने बताउनुभयो ।

नेपाल– अमेरिकाबीच सात दशक लामो र मजबुत सम्बन्ध रहेकाले यस्ता कुराले आफू चिन्तित भए पनि समाधान निस्कनेमा उत्तिकै आशावादी रहेको राजदूत बेरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू