अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

डेंगु नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्नुपर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:३० मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न आवश्यक नरहेको बताएको छ । डेंगुको महामारी नियन्त्रण बाहिर गएकोले सङ्कटकाल घोषणा गरेर नियन्त्रण अभियान चलाउन संसद्मा माग उठेका बेला स्वास्थ्य मन्त्रालयले आत्तिन पर्ने अवस्था नरहेको बताएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आम नागरिकमा अनावश्यक भय फैलाइएको जिकिर गर्नुभयो । काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको सङ्क्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने हजारौँ सङ्क्रमित भएका छन् । तराईका जिल्लामा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्ला मनाङमा समेत भेटिएपछि आम नागरिक थप त्रसित बनेका छन् ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको बताउनुभयो । काँग्रेस सांसद राधेश्याम अधिकारीले बुधवार राष्ट्रियसभाको बैठकमा डेंगु रोग नियन्त्रणका लागि सङ्कटकाल घोषणा गरेर अभियान थाल्न माग गर्नुभएको थियो । यसअघि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सेना र प्रहरी परिचालन गर्ने बेला भएको बताउनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू