अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

स्वास्थ्य अभियन्ता डा. सेन्डरप्रति श्रद्धाञ्जली सभा

बिआरटीनेपाल २०७६ भदौ १९ गते १२:१८ मा प्रकाशित

काठमाडौँ, जनताको स्वास्थ्य अभियानका संस्थापक तथा अभियन्ता डा. डेविद सेन्डरको निधनप्रति बुधवार जनताको स्वास्थ्य अभियान नेपाल र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले श्रद्धाञ्जली सभा राखेको छ । 

डा.सेन्डरका गत शुक्रवार बेलायतमा हृदयाघात भई ७४ वर्षको उमेरमा मृत्यु भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा स्वास्थ्य अधिकारकर्मीहरूले जनताको स्वास्थ्य अधिकारका लागि एकता बद्ध भई व्यापारमुखी स्वास्थ्यको विरोध गरी नीतिगत सुधार ल्याउन सकेमा मात्र साँचो अर्थमा उनको आत्माले चीर शान्ति हुने विचार व्यक्त गरे ।

विगत ६ वर्षदेखि उनी जनताको स्वास्थ्य अभियानका उपाध्यक्ष हुन् । उनले दक्षिण अफ्रिकी जनताको स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण योगदान गरेका छन् । उनले लेखेको स्वास्थ्यका लागि सङ्घर्ष (स्ट्रगल फर हेल्थ), अफ्रिका एन्ड ग्लोबल हेल्थलगायत जनस्वास्थ्यका क्षेत्रमा बहुचर्चित पुस्तक हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा जनताको स्वास्थ्य अभियान नेपालका प्राडा शरदराज वन्तले जनताको स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय कार्य गरेर डा.डेभिडले कमाएको ख्याति र प्रतिष्ठाको चर्चा गरे । अहिले पनि जनताको स्वास्थ्य अधिकारका लागि उत्तिकै काम गर्नुपर्ने स्थिति रहेको र थप चुनौतिपूर्ण बन्दै गएको धारणा उनले राखे ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्त लाल मुल्मीले स्वास्थ्य सधैँ नै जनताको पक्षमा हुनुपर्ने विचार प्रकट गर्दै यसका लागि नीतिगत सुधारको आवश्यकता रहेको चर्चा गरे । डा.सेन्डर नेपालको स्वास्थ्य अधिकारमा प्रत्यक्ष –अप्रत्यक्ष रूपमा सहभागी रहँदै आएको पनि मुल्मीले स्मरण गरे।

डा.महेश मास्केले जनताको स्वास्थ्यका लागि ग्लोबल एक्सन पोलिसी, नेसनल हेल्थ पोलिसिका बारेमा चर्चा गर्नुपर्ने बताए । कार्यक्रममा डा.अर्जुन कार्की, डा.केदार बराल, डा.सचिन घिमिरे, डा.सरिता श्रेष्ठलगायतले जनताको स्वास्थ्य अधिकारसम्बन्धी गतिविधिलाई लिपिबद्ध गर्दै लानुपर्ने धारणा राखे । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू