अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

औषधि मिसावटका कारण स्पेनका बालबालिकामा दुर्लभ समस्या देखियो

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:१८ मा प्रकाशित

स्पेनका १७ जना बालबालिकामा औषधि मिसावटका कारण ‘वेर उल्फ सिन्ड्रोम’ नामक अनौठो समस्या देखा परेको छ । यसमा बच्चाहरुको जीउभरि असाधारण तरिकाले बाक्लो रौँ पलाउने गरेको हो । वास्तवमा डाक्टरहरुले छातिका लागि भनेर दिने गरेको ‘ओमेप्राजोल’ को सट्टा कपाल पलाउने औषधि, ‘मिनोक्सिडील’ परेपछि नै उनीहरुमा यो अनौठो रोग देखा परेको हो । सो अवस्थालाई ‘हाइपरट्राइकोसिस’ पनि भन्ने गरिएको छ । स्पेनी पत्रिका एल मुन्डोले समस्याबाट पीडित १७ बालबालिकाका तस्बिर समेत सार्वजानिक गरेको छ जसबारे अहिले व्यापक चर्चा भइरहेको छ ।

यता बच्चाहरुको जीउमा असाधारण रुपमा बाक्लो रौँ पलाइरहेको देखेर आश्चर्यमा परेका अभिभावकहरुलाई के भइरहेको भन्ने थाहा नपाएपछि उनीहरु झन आत्तिएको र अत्यन्तै डराएको बताएका हुन् । एन्डुलेसिया क्षेत्रमा बस्ने एउटी आमाले भनिन्, “मेरो छोराको निधार, गाला, पाखुरा, हात, खुट्टाभरि कपाल पलायो । उसको आँखीभौँ पनि ठूलो मान्छेको जस्तै थियो । त्यतिबेला हामीलाई के भएको केही थाहा थिएन त्यसैले हामी अत्यन्तै डरायौँ ।” त्यस्तै अर्की तीन महिने शिशुकी आमाले भने आफ्नो बच्चालाई किन त्यस्तो भएको भनेर थुप्रै डाक्टरलाई देखाएको बताइन् । यस दुर्लभ अवस्थाका कारण आफूहरुले विशेष उपचारका लागि विशेषज्ञकहाँ समेत धाउनु परेको उनको गुनासो छ ।

यसरी प्रभावित दश बालबालिका उत्तरी प्रदेश कान्टाब्रीयाका थिए भने चारजना दक्षिण र तीनजना पूर्वी क्षेत्रका थिए । यस्तोमा उक्त औषधि सप्लाइ गर्ने फार्मेसीले स्मिलक्स ल्याबोरेटरीबाट उत्पादन आयात गरेको थियो जुन भारतमा अवस्थित छ । यस्तोमा ल्याउने क्रमै दुईवटा औषधि मिसिएर गलती भएको ‘स्पेनिस एजेन्सी अफ मेडिसिन्स एण्ड मेडिकल डिभाइसेस’ ले जानकारी दिएको छ । अहिले भने सो औषधि स्पेनका सबै फार्मेसीबाट हटाइएको छ भने उक्त फार्मेसी अस्थायी रुपमा बन्द गरिएको छ । वुल्फ सिन्ड्रोम अत्यन्तै दुर्लभ र अनौठो अवस्था भएपनि यो पहिलो घटना भने नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू