अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

क्लिनफिडको प्रावधानसहित विज्ञापन विधेयक पारित

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:३३ मा प्रकाशित

प्रतिनिधिसभाको आजको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । सरकारको समर्थनमा रहनेलाई मात्रै विज्ञापन उपलब्ध गराउने भन्ने प्रचारसमेत गलत रहेको मन्त्री बाँस्कोटाको भनाई थियो ।

“सरकारको भजन गाउनेलाई मात्र विज्ञापन दिने कुरा किमार्थ हुँदैन, त्यसलाई हामी व्यवहारमा नै देखाउँछौँ,” उहाँले भन्नुभयोे, “यसमा कुनै शङ्का गर्नुपर्ने आधार छैन ।” उहाँले विधेयकले भ्रष्टाचार रोक्ने, कर छल्नेलाई नियन्त्रण गर्ने र कुन संस्थाले के कति मात्रामा विज्ञापनमा खर्च गर्छ भन्ने विषय पारदर्शी हुने बताउनुभयो ।

विज्ञापन विधेयक नेपालको हकमा नयाँ विषय समेटिएको कानून हो । विज्ञापन प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय होइन भन्दै बाँस्कोटाले विधेयकले समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिडलाई समेत समेटेको उल्लेख गर्नुभयो । कानूनअनुसार दर्ता भएका सञ्चारमाध्यमले राज्यका तर्फबाट ‘इन्सेन्टिभ’ दिने व्यवस्था गरेको उल्लेख गर्दैै मन्त्री बाँस्कोटाले राज्यप्रति समर्पित हुनेलाई मात्र विज्ञापन दिने हो की भन्ने आशङ्का नगर्न आग्रह गर्नुभएको छ । बैठकमा सांसद पुष्पा भुसाल, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङलगायतले विधेयकमाथि जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू