अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड

बिआरटीनेपाल २०७६ भदौ ५ गते ९:०५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैयमाससम्म ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले बिहीबार आयोजित साधारण सभामा नाफासहित कारोबार अवस्था सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैयमाससम्म १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन भएको र १ खर्ब ४४ अर्ब रुपैंया कर्जामा लगानी गरिएको बैंकले जनाएको छ । साधारण सभाले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले विभिन्न सहायक कम्पनीमार्फत व्यवसाय गरी आर्थिक सवलीकरणमा सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । साधारण सभामा बैंकका शेयरधनी, महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राख्नुभएको जिज्ञासाबारे अध्यक्ष गुरुङले जवाफ दिनुभएको थियो ।

साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, केशवप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी तथा बैंकभित्र क्रियाशील तीनवटै ट्रेड यूनियनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले
सहजीकरण गर्नुभएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले ७ वटै प्रदेश र ७७ जिल्लामा बैकिङ सेवा पुर्याएको छ । मुलुकको विभिन्न ठाउँमा २ सय २२ शाखा कार्यालय, १ सय ७८ एटिएम, र ९३ शाखारहित बैंकिङ्ग सेवा प्रदान भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया