अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

पत्रकार रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:४० मा प्रकाशित

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत चितवनले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको थियो। उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने भन्ने अदालतबाट आदेश भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ । आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँनेछ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ ।

पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए । पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए । कन्सल्टेन्सी चलाएर बसिरहेका पुडासैनीले केही समय लामिछानेले न्युज २४ मा सञ्चालन गरिरहेको कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा काम गरेका थिए। त्यसपछि उनी माउन्टेन टिभीमा आबद्ध भएका थिए ।
माउन्टेन टिभीमा काम गर्न थालेपछि लामिछाने र कँडेलले मानसिक रुपमा यातना दिइरहेकाले आफूले आत्महत्या गरेको पुडासैनीले भिडियोमा बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू