अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

पत्रकार पुडासैनी आत्महत्या प्रकरण – पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

बिआरटीनेपाल २०७६ साउन ३० गते ९:५८ मा प्रकाशित

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई आज साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

पत्रकार पुडासैनीको आत्महत्याअघि खिचिएको भिडियोमा उनले लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको नाम लिएका थिए । मृतक पुडासैनीले आफूलाई लामिछाने र कँडेललगायतले मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको रेकर्डेड भिडियो सार्वजनिक भएको थियो । उनीहरु तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। त्यसअघि प्रहरीले कार्कीलाई पक्राउ गरेको थियो । जनतासँग सिधा कुरामा आज सोही विषयमा प्रशारण गर्ने तयारी भईरहेका बेला प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । उनिहरुले आजको कार्यक्रमबाट आफुहरुमाथि लागेको आरोपको खण्डन गर्ने तयारी गरिरहेका थिए ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले न्युज २४ को कार्यालयबाट दुवैलाई पक्राउ गरेको जानकारी दिनुभयो । दुवै जनालाई चितवन लैजाने तयारी गरिरहेको छ । उहाँलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

यसअघि आज विहान रबिले पनि सामाजिक सञ्जालमार्फत प्रहरीलाई घटनाका विषयमा जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू