अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

‘ब्रह्मा नै आए पनि कालीगण्डकी डाइभर्सन हुँदैन’– मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७६ साउन २३ गते ९:५४ मा प्रकाशित

कालीगण्डकी डाइभर्सन बनाउन सबैलाई मनाउने स्वघोषणा गरेका नेकपा महासचिव विष्णु पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले कडा जवाफ दिनुभएको छ । नेकपा प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्को विष्णु वा ब्रहृमा, महेश्वर ल्याए पनि डाईभर्सन नहुने स्पष्ट पार्नुभयो ।

नेकपा महासचिव पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पाल्पा, स्याङ्जा, तनहुँबासीलाई मनाउने जिम्मा आफ्नो भएको बताउनुभएको थियो । कालीगण्डकी नदी डाइभर्सन गरेर तिनाउमा मिसाउँदा तनहुँ, स्याङ्जा, नवलपुर मरुभूमि बन्ने मुख्यमन्त्री गुरुङको दावी छ । ४ जिल्लालाई मरुभूमि बनाएर २ जिल्लालाई हराभरा बनाउने कुरा तर्कसंगत हुन नसक्ने उहाको भनाई छ ।

विष्णु पौडेल अर्थमन्त्री भएको बेला कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो । झण्डै ४० अर्ब लागतको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।

तर गण्डकी प्रदेश सरकारसँगै पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका जनता पनि डाइभर्सनको विरोधमा छन् । कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाटसम्मका थुप्रै धार्मिक क्षेत्रलाई समाप्त गर्ने भन्दै स्थानीय जनप्रतिनिधि पनि विरोधमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू