अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

७ महिना यता ९ लाख पर्यटकले गरे लुम्बिनी भ्रमण, सबैभन्दा बढी श्रीलंकन पर्यटक

बिआरटीनेपाल २०७६ साउन २० गते १०:२० मा प्रकाशित

बितेको सात महिनामा साढे ९ लाख पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गत ७ महिना (जनवरीदेखि जुलाईसम्म) मा ९ लाख ६० हजार २ सय ६० जनाले लुम्बिनी घुमेको लुम्बिनी विकास कोषले जनाएको छ । यो अवधिमा १ सय ४ देशका पर्यटक लुम्बिनी घुम्न आएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव एवं योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले जानकारी दिनुभयो ।

गत सात महिनामा तेस्रो मुलुक (राहदानी बाहक)बाट ८६ हजार ५ सय ३१ पर्यटकले लुम्बिनीको भ्रममण गरेका छन् भने ७ लाख ६३ हजार ४ सय ३१ नेपालीले लुम्बिनी घुमेका छन् । यस्तै छिमेकी मुलुक भारतबाट १ लाख १० हजार २ सय ९८ पर्यटक लुम्बिनी घुम्न गएका थिए ।

विदेशी पर्यटकहरूको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १२ हजार ४ सय २ जना अर्थात् १६ प्रतिशतले बढी रहेको लुम्बिनी विकास कोष सूचना शाखाका नायव सुब्बा दिलीप कुलुंगले बताउनुभयो । अघिल्लो वर्षको सोही अवधिमा ७४ हजार १ सय २९ जना विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

यसैबिच, ७ महिनामा लुम्बिनी आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलङ्काका पर्यटक रहेका छन् । सो अवधिमा १९ हजार २ सय ३९ श्रीलंकनले लुम्बिनी भ्रमण गरेको बताइएको छ । श्रीलङ्कापछि म्यानमारका १६ हजार ९ सय ५६, थाई १५ हजार ९ सय २०, चिनियाँहरू १२ हजार ८ सय ७, दक्षिण कोरियाका ३८ सय ४६, भियतनामहरू २९ सय ९६, जर्मनीका १८ सय, स्वीट्जरल्याण्डका १३ सय ४८, जापानका १२ सय ३६, अमेरिकाका ११ सय ८९, फ्रान्सका १ हजार २३ पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् ।

लुम्बिनी घुम्न आउने पर्यटकले मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी काण्ड, विश्व शान्ति दीपलगायत विभिन्न स्वदेशी तथा विदेशी विहार अवलोकन गर्ने गर्दछन् । केही पर्यटक चराचुरुङ्गी हेर्न र साइक्लिङमा पनि रमाउने गर्छन्। केही पर्यटक कपिलवस्तु र नवलपरासीका विभिन्न बौद्ध स्थल र रामग्राम स्तुपासम्म पुग्ने गरेका छन्। स्थल मार्ग हुँदै आउने बुद्धिस्ट देशहरू श्रीलङ्का, थाइल्यान्ड, भियतनाम, म्यानमार, दक्षिण कोरियालगायतका देशका पर्यटकहरू सोही दिन या एक रात लुम्बिनीमा बसी फिर्ता जाने गरेता पनि युरोपियनलगायत चीन एवं अन्य देशका पर्यटक भने नेपालका अन्यत्र क्षेत्रमा भ्रमणका लागि जाने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू