अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न, २ लाख १४ हजार बन्दै

बिआरटीनेपाल २०७६ साउन १९ गते ९:४५ मा प्रकाशित

काठमाडौँ, २०७२ साल वैशाख १२ र त्यसपछिका पराकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको सङ्ख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको सङ्ख्या ७ लाख ७३ हजार ४४७ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभयो । ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरू सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’–उहाँले भन्नुभयो । 

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको सङ्ख्या ४ लाख ७४ हजार ११९ छ ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसै गरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् ।

कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।

जिल्लागत रूपमा पुनर्निर्माण सम्पन्न भएका घरको सङ्ख्या यस प्रकार छः

सिन्धुपाल्चोक – ६७, ८३४
नुवाकोट – ५२,६१३
धादिङ – ४८,४५४
दोलखा – ४४,५३३
गोरखा – ४४,२३१

काभ्रेपलाञ्चोक – ३०,८७७
रामेछाप – ३०,७११
ओखलढुङ्गा – १५,७७२
मकवानपुर – १३,०७०
सिन्धुली – १२,५८२
काठमाडौँ – ११,५४२

रसुवा – १०,४१८
तनहुँ – १०,५२५
भक्तपुर – ८,४२०
ललितपुर – ४,२१६
लमजुङ – ३२००

चितवन – २,९८२
खोटाङ – २,९२८
सोलुखुम्बु – २,३०२
पाल्पा – १,४३५
भोजपुर – १,२६८
धनकुटा – १,२०३
बागलुङ – ८,८२
स्याङ्जा – ७०७

पर्वत – ६७६
नवलपरासी – ६२०
गुल्मी – ३२७
कास्की – ३२४
म्याग्दी – २७१
अर्घाखाँची – ५४

सम्झौता नगर्नेको नाम हट्दै
निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरू पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् ।

लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको सङ्ख्या साढे पाँच हजार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू