अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

प्रधानमन्त्री ओलीबाट काठमाडौँमा नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन समुद्घाटन

बिआरटीनेपाल २०७६ साउन १२ गते ११:३० मा प्रकाशित

भारतसँगको व्यापार सहजीकरण र नेपालमा लगानी गर्न प्रधानमन्त्रीको भारतीय निजी क्षेत्रलाई आग्रह
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्त रूपमा आज मिति २०७६ साउन ११ गते, आइतबार, काठमाडौँमा आयोजना गरिएको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन (Nepal-India Logistics Summit-2019) को एक विशेष समारोहका बिच काठमाडौँमा समुद्घाटन गर्नुभयो । 

पारवहनका सम्बन्धमा विद्यमान समस्या र समस्या समाधानतर्फ भइरहेका प्रयासको पृष्ठभूमिमा नेपाल–भारत बिचको पारवहनलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलन समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने र नेपालमा लगानीको वातावरण बन्ने विश्वास प्रकट गर्नुभयो । वर्तमान अवस्थामा नेपाल–भारत बिचको दुई पक्षीय सम्बन्ध भनेको सडक सञ्जाल नै भएको, रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम अगाडी बढाइको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले यसको सफलता पछि दुई पक्षीय व्यापार अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । 

दुवै देशका उद्यमी व्यवसायी र लगानीकर्ताहरूको समेत ठुलो सहभागिता रहेको सो सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देश बिचको व्यापारमा नेपालले निकै धेरै व्यापार घाटा व्यहोर्नु परेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै नेपालमा आएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । लगानीका लागि नीतिगत, कानुनी लगायत सम्पूर्ण सुधार गरिएको स्पष्ट पार्नुहुँदै उहाँले नेपालको व्यापार घाटा कम गर्न पनि नेपाललाई पर्याप्त लगानीको आवश्यकता रहेकाले यहाँ आएर लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । नीतिगत सुधार र नीतिगत स्थायित्व लगानी आकर्षणका लागि महत्त्वपूर्ण आधार हुन प्र्रधानमन्त्रीले भन्नु भयो राजनीतिक स्थायित्व समेत भएकाले नेपाल यतिखेर लगानीका लागि सुन्दर स्थल भएको दाबी समेत गर्नुभयो । 

काठमाडौँ—वीरगन्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुहुँदै प्रधानमन्त्रीले नेपाल विकासतर्फ फड्को मार्ने क्रममा रहेकाले त्यसका लागि भारतस“गएको व्यापारको भूमिका महत्वूर्ण हुने बताउनु भयो ।

त्यसअघि स्वागत मन्तव्य दिनुहुँदै महासङ्घका अध्यक्ष भवानी राणाले दुवै देशका सरकारी पदाधिकारीहरू, उद्यमी व्यवसायीहरू, व्यावसायिक घरानाहरू, लजिष्टि कम्पनीहरू समेतलाई एकै थलोमा ल्याई व्यापार तथा पारवहनका विषयमा रहेका समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी समाधानका लागि सहमति बनाउन र व्यापार सहजीकरण मा सहयोग गर्न सम्मेलन महत्त्वपूर्ण हुने विश्वास प्रकट गर्नुभयो । विश्व बैङ्कको तथ्याङ्क अनुसार नेपालले लजिष्टिक सुधार सूचकांकमा सुधार गर्दै गएको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै सन् २०१६ मा सूचकांक २ दशमलव ३८ रहेकोमा त्यसमा सुधार भई सन् २०१८ मा २ दशमलव ५१ पुगेको बताउनु भयो । यसले नेपालको लजिष्टिक क्षेत्रमा निकै महत्त्वपूर्ण उपलब्धि भएको भन्नु हुँदै यो सम्मेलनले दुई देश बिच स्थलगत तहमा रहेका पारवहनका समस्या तथा चुनौतीहरूलाई प्रत्यक्ष रूपमा राखी त्यसको निराकरणका लागि सम्मेलन महत्त्वपूर्ण माध्यम हुने विश्वास प्रकट गर्नुभयो । पारवहनका क्रममा नेपाली उद्यमी व्यवसायीहरूले उठाएका समस्याहरूलाई सम्बोधन गरी सहयोग गर्न भारतीय सरकारका महत्त्वपूर्ण पदाधिकारीहरू प्रतिबद्ध रहेको आफूले पाएको पनि उहाँले बताउनु भयो । पारवहनका तहमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्या पहिचान गरी तीनको समाधानमा सहयोग पुगोस् भन्ने अभिप्रायले महासङ्घले नेपाल सरकार, मेरिटाइम इन्डियासँगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष राणाले बताउनु भयो । 

कार्यक्रममा भारतीय सरकारका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिष्टिक) श्री एन. सिभासैलाम (N. Sivasailam, IAS, Special Secretary(Logostic), Ministry of Commerce and Industry, Government of India) ले नेपाल–भारत बिचको व्यापारका क्षेत्रमा रहेका समस्या समाधानमा सहयोग गर्न भारतीय सरकार तयार रहेको बताउनु भयो । नेपाली उद्यमी व्यवसायीहरूले भोग्नु परेका पारवहनका मुद्दाहरूका विषयमा हिजो महासङ्घ सचिवालयमा महत्त्वपूर्ण छलफल भएको प्रसङ्ग राख्नुहुँदै कतिपय समस्या भारतीय पक्षबाट सम्बोधन हुनुपर्ने देखिएकाले त्यसलाई सम्बोधन गरी सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भयो । नेपालसँगको व्यापार सम्बन्ध अझ सुधार तथा विस्तार गर्नुपर्ने स्थिति छ, उहाँले भन्नु भयो–दुई पक्षीय व्यापार विस्तार गर्न भारत सधैँ तयार छ । त्यस्ता विषयहरूमा दुवै देशले छलफल र कुराकानीबाटै अघि बढ्नु पर्दछ । नीतिगत, पूर्वाधार तथा स्थलगत सबै प्रकारका समस्या समाधानमा सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले सम्बोधन गर्दै पछिल्लो समय नेपाल–भारत वाणिज्य सम्बन्ध अत्यन्त राम्रो भएको बताउनु भयो । नेपाल र भारत बिचको व्यापारलाई सहज रूपमा अगाडी बढाउन दुवै देश लागिरहेको र कतिपय महत्त्वपूर्ण परियोजना सम्पन्न भएपश्चात् आपसी व्यापार थप मजवूद हुने उहाँले धारणा राख्नु भयो । छिट्टै औपचारिक शुभारम्भ हुन गइरहेको मातिहारी–अम्लेखगंज पेट्रोलियम पाइपलाइन नेपालको आर्थिक विकासका लागि गेम चेञ्जर हुने दाबी समेत राजदूतले गर्नुभयो । यसले समग्रमा नेपालको विकासमा ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले धन्यवाद मन्तव्य दिनुभएको समुद्घाटन समारोहमा म्यारिटाइम गेटवेका प्रधान सम्पादक तथा प्रकाशक राम प्रसाद रभि कन्टेनर कर्पोरेसन अफ इन्डियाका अध्यक्ष एवं व्यवस्थापन निर्देशक भी कल्याण रमन(Mr V Kalyanarama, Chairman & Managing Director, Container Corporation of India Limited)नेपाल भारत बिचको आर्थिक व्यापारिक सम्बन्ध, अबका दिनमा गर्नुपर्ने सहकार्य तथा पारवहनका विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल भारत व्यापार अवसर तथा चुनौतीहरू चेन्जिङ ल्याण्डस्केप अफ सिपिङ एण्ड लजिष्टिक्स–प्रिपेएरिङ फर फ्यूचर, ट्रान्सफरमिङका विषयमा दुवै देशका पारवहन क्षेत्रका विज्ञ, सरकारी पदाधिकारीहरू, भारतीय सिपिङ कम्पनीका पदाधिकारीहरू, फ्रेटफ्वार्डर्सहरू र उद्यमी व्यवसायीहरूद्वारा कार्यपत्र प्रस्तुति तथा वृ हद छलफल हुनेछ । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, पूर्व वाणिज्य सचिवहरू, नेपाल फ्रेटफरवार्डर्स एसोसिएसनका अध्यक्ष एवं महासङ्घको निर्यात प्रवर्द्धन समितिका सभापति प्रकाशसिंह कार्की लगायतका, आरवी रौनियार लगायतका विज्ञ व्यक्तित्वहरूबाट विभिन्न सत्रमा सम्बोधन हुने कार्यक्रम छ । समुद्घाटन कार्यक्रममा महासङ्घका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरू, दुवै देशका सरकारी तथा निजी क्षेत्रका उद्यमी व्यवसायीहरू, विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । 

प्रतिक्रिया