अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

प्रहरी समायोजन विधेयकप्रति सांसदहरुको आपत्ति

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:५२ मा प्रकाशित

प्रतिनिधिसभाका सांसदहरुले सरकारले संघीयताको मर्म विपरित ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक’ ल्याएको उल्लेख गर्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाका सांसदद्धय सञ्जयकुमार गौतम र उमाशंकर अरगरियाले संघीयताको मर्म विपरित हुनेगरी सो विधेयक आएको उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गौतमले सो विधेयकमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रदेशको सुरक्षा निकाय परिचालन गर्ने प्रावधान राखिएकोमा आपत्ति जनाउनुभयो । उहाँले सरकारले ल्याएको सो विधेयक संघीयताको मर्म विपरित हुने गरी आएकाले मान्य नहुने चेतावनी पनि दिनुभयो ।

सत्ता साझेदार समाजवादी पार्टी, नेपालका सांसद उमाशंकर अरगरियाले प्रदेश सरकारले नै प्रदेश प्रहरी परिचालन गर्नुपर्ने संविधानको व्यवस्था विपरित सो विधेयक आएको दावी गर्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारलाई संघीय सरकारको खटनपटनमा चलाउने गरी आएको सो विधेयक सच्याउन पनि सरकारसँग माग गर्नुभयो । सांसद अरगरियाले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा निकायको परिचालन गर्ने पूरानै व्यवस्थालाई सरकारले निरन्तरता दिएकोमा पनि असन्तुष्टि जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू