अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

गुल्मीमा भीषण पहिरो, कम्तीमा ११ जनाको मृत्यु, २ जना बेपत्ता, २०० घर जोखिममा

बिआरटीनेपाल २०७६ साउन ७ गते ९:५९ मा प्रकाशित

गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा गएको भीषण पहिरोमा परी कम्तीमा ११ जनाको ज्यान गएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक र वडा नम्बर–४, लिम्घामा गरी ११ जनाको मृत्यु भएको हो । लिम्घामा ८ जनाको र ठूलोलुम्पेकमा ३ जनाको मृत्यु भएको हो । लिम्घामा मृत्यु हुने आठै जना एकै परिवारका सदस्य हुन् । पहिरोमा परी दुईजना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीको टोली पुगेर उद्धारमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । पहिरो प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य टोली पनि पुगेको छ । पहिरो ठूलो भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

यसैबीच, पहिरोका कारण ठूलोलुम्पेकका करिब २०० घर जोखिममा परेका छन् । घरहरु जोखिममा रहेकाले प्रभावितहरु स्थानीय विद्यालयहरुमा बसिरहेका छन् । उनीहरुलाई खानपिनका लागि वडा कार्यालयले व्यवस्थापन गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उद्धार र राहतमा जुट्ने निर्णय गरेको छ । उद्धारका लागि पहिरो प्रभावित क्षेत्रमा विभिन्न संघ, संगठनसमेत खटिएका छन् । यसैबीच, मंगलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली काठमाडौंबाट हेलिकोप्टरमार्फत् राहत सामग्रीसहित पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ । गुल्मी क्षेत्र नम्बर–१ मा पर्ने उक्त स्थान मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू