अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

सबल लोकतन्त्रका लागि युवाको भूमिका विषयक एक विचार गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७६ साउन ६ गते १०:३२ मा प्रकाशित

३८औं विपी स्मृति दिवसको अवसरमा विपी कोइराला स्कुल अफ पब्लिक पोलिसद्वारा काठमाडौँमा ‘सबल लोकतन्त्रका लागि युवाको भूमिका’ विषयक एक विचार गोष्ठी सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाश शरण महत उपस्थित थिए। कार्यक्रममा देशभरबाट विभिन्न राजनीतिक एवं गैरराजनीतिक युवा सङ्गठनबाट करिब ३ सय युवाहरूको सहभागिता थियो। कार्यक्रमको सभापतित्व विपी कोइराला स्कुल अफ पब्लिक पोलिसिका अध्यक्ष एवं नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले गर्नुभएको थियो ।

प्रकाश शरण महत: विपी कोइराला सधैँ जन्मिँदैनन् तर उनका विचारलाई मार्गदर्शन मान्दै लोकतन्त्र बलियो बनाउनका लागि नेपाली काङ्ग्रेस बलियो हुन सधैँ आवश्यक छ। विपी ऐतिहासिक व्यक्तित्व हुनुको कारण वहाँको दूरदर्शिताको क्षमता हो । विपीले भन्नुहुन्थ्यो- हामीले कम्युनिस्टहरूलाई त चिनेकै छौँ तर अब हामीले आफूलाई चिन्न आवश्यक छ । तर मेरो विचारमा नेपालमा कम्युनिस्टहरूलाई ‘प्रजातन्त्रवादी’ जस्तो सोचेर गल्ती गरेका छौँ। मौका पाउनेवित्तिकै कम्युनिस्टहरू आफ्नो गैरप्रजातान्त्रिक चरित्र देखाउँछन्। त्यही बुझेरै पार्टी सभापति शेरबहादुर देउवाले चुनावअघि कम्युनिस्टहरूले चुनाव जितेमा रून पनि पाइँदैन भन्नुभएको हो। हामी जनतामा गएर अहिलेको सरकारका नियन्त्रणवादी, निषेधकारी सोचबारे बुझाउन आवश्यक छ ।

विपीको कार्यकर्तासँगको सामीप्य अनुकरणीय थियो। निकै तल्लो स्तरका नेताहरूका जिज्ञासालाई वहाँ झर्को नमानी उनीहरूलाई चित्त बुझाएर पठाउनुहुन्थ्यो। गणेशमान सिंह समेत विपीका प्रशंसक र कतिपय कुरामा आलोचक हुँदा समेत वहाँ समेत थुप्रै अवस्थामा विपीबाट सन्तुष्ट भएको बताउनु भएको थियो। हामी सबै समान हौँ भन्ने र हामी सबैको ध्येय एउटै हो भन्ने कुरा विपीबाट सिक्नुपर्छ । काँग्रेस कमजोर भएको होइन। पछिल्लो चुनावमा काँग्रेसले २०४८ सालमा ल्याएको दुईतिहाई मतको झन्डै दुई प्रतिशत मात्र कम भएकोमा हामी पराजय व्यहोर्यौं। काँग्रेसको जनमत अब नयाँ शिराबाट विस्तार गर्नका लागि कम्युनिस्टहरू र उनीहरूका व्यवहार र कामलाई चिनाउन सक्नुपर्‍यो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद: विपीको अन्तर संवाद र संलग्न युवाहरूसँग विशेष थियो। वहाँ स्पष्टसँग आफ्नो दृष्टिकोण दिन सक्ने भएकैले वहाँको प्रभाव जनता र कार्यकर्तामा निकै विलक्षण थियो । विपीले विदेशी अनुदानका भरमा देशको एउटा वर्गले मात्र अनुभव गरेको तर वास्तविक नेपाल गाउँ भएको बताउनुहुन्थ्यो। तर २०४८ सालपछि पनि हामीले गाउँ र सहरको विभेद कम गर्न सकेनौँ। संसदीय क्षेत्र पनि जनसङ्ख्याका आधारमा मात्र गर्दा दुर्गम ठाउँका भन्दा सहरका माग प्राथमिकतामा परे। विपीले धरातलले सम्झनुहुन्थ्यो। वहाँले श्रमिकलाई उत्पादनको हिस्सेदारी दिएर विकास र अर्थतन्त्रमा टेवा दिन सकिन्छ, पूर्ण प्रतिस्पर्धा होइन समावेशिताको कुरा गर्नुहुन्थ्यो। सामाजिक सुरक्षा वहाँको सधैँ केन्द्रमा हुन्थ्यो ।

विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतम: लोकतन्त्रका लागि कुनै विशेषण चाहिँदैन। तर लोकतन्त्रलाई खतरा लोकतन्त्रवादीबाटै हुन्छ। किनकि कम्युनिस्टहरूले काङ्ग्रेसलाई आजको अवस्थामा पुर्‍याएको होइन। उनीहरूलाई चिन्न कठिन हुँदैन। काङ्ग्रेसमा अहिले चेतना सुकेको छ त्यो जाग्नुपर्छ। नेपाली काँग्रेसको विधानमा जेजे कुराहरू छन् ती सबै नेपालको संविधानमा छन्। काँग्रेसको नेतृत्व त त्यहीँ देखिन्छ। तर प्रजातन्त्रबाट लोकतन्त्रमा जाने कुराको अझै कति काँग्रेसीलाई चित्त बुझेको छैन।

प्रेमराज जोशी, अध्यक्ष, विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी: लोकतन्त्रलाई निर्वाचनका रूपमा मात्र हेर्नुहुँदैन। त्यससँगै स्थापित भएका लोकतान्त्रिक संस्थामा मूल्य, मान्यता र आदर्शबाट बलियो बनाउनुपर्नेमा चुनावबाट सिर्जित जनमतका आडमा लोकतान्त्रिक संस्था कमजोर बनाउने काम अहिलेको सरकारबाट भएको छ। ठुला सङ्घर्षबाट ल्याइएको लोकतन्त्रमा मरिरहेको लोकतान्त्रिक संस्कार जीवन्त बनाउने कामको सान्दर्भिकता अहिलेजस्तो महत्त्वपूर्ण र अपरिहार्य कहिल्यै भएको थिएन। त्यसैले पनि विपीका दर्शन र उनले छाडेका पदचापको अर्थ अहिले झनै बढेको छ।

के हो विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी?
विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी, प्रजातान्त्रिक विचार र प्राज्ञिक बहसलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित स्वतन्त्र थिंक ट्याङ्क हो । उसले प्रजातन्त्र, मावनअधिकार र शान्तिका विषयमा अध्ययन, पैरवी र अन्तर्क्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। स्कुलले यसअघि ‘वान बेल्ट वान रोड (ओबिओआर)– नेपाल सम्मेलन– २०१७ आयोजना गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू