अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

बाढी पहिरो पीडितको उद्धार तथा राहतमा जुट्न सरकारलाई राज्य ब्यवस्था समितिको निर्देशन

बिआरटीनेपाल २०७६ असार २९ गते ९:५६ मा प्रकाशित

संसदको राज्य व्यवस्था समितिले बाढी तथा डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सरकारलाई निर्देशन दिएको छ । समितिले तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटाउन पनि सरकारलाई निर्देशन दिएको छ । बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने तर्फ सजग गराउँदै समितिले तत्काल औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन दिएको हो ।

समितिले आइतबार गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेम राई, प्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई बोलाएर छलफल गरेको थियो । प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउन, राहत र उद्धारको कार्यलाई अझै प्रभावकारी बनाउन, विस्थापितलाई पुर्नस्थापित गर्न र घाइतेको प्रभावकारी उपचार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । समितिले राहत र उद्धारमा सुरक्षा निकायहरुले प्रभावकारी भूमिका देखाएकोले प्रसंशा गर्ने निर्णय पनि गरेको छ ।

समितिको बैठकमा गृहमन्त्री थापाले अहिलेको प्रकोप प्राकृतिक भन्दा पनि मानव निर्मित बढी भएको बताउनुभयो । जथाभावी विकास गर्ने, डाँडापाखा भत्काउने, खोलानाला थुनेर घर बनाउने प्रवृतिले क्षति बढी गरेको उनको भनाई थियो। विश्वव्यापाी रुपमा बढेको तापक्रम बृद्धिको असर पनि यसमा देखिएको गृहमन्त्री थापाको भनाई थियो । मन्त्री थापाले प्रकोप पछिको राहत र उद्धारमा सरकारी संयन्त्र लागिपरेको बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरु झपट रावल, रेखा शर्मा, यशोदा सुवेदी लगायतले प्रकोपको दृघकालिन समाधान खोजिनुपर्ने बताउनुभएको थियो । भारतीय बाँधहरुबारे पनि कुटनीतिक र दीर्घकालिन समाधान खोजिनुपर्ने उहाँहरुको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू