अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

अर्थमन्त्रीको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अघि बढेकोमा विश्व बैङ्कको प्रशंसा

बिआरटीनेपाल २०७६ असार १२ गते ११:२२ मा प्रकाशित

काठमाडौँ, १२ असार । अर्थमन्त्री डा. युवराज खतिवडासँग विश्व बैङ्कका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डी एन्जेलोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज अर्थ मन्त्रालयमा भएको सो भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैङ्कका उपाध्यक्ष एवं महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैङ्कको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । 

सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आय स्तर भएको मुलुकबाट मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै यसका लागि विश्व बैङ्कको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नु भयो । भेटघाटका क्रममा विश्व बैङ्कका तर्फबाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरूलाई तीव्रताका साथ अगाडि बढेकोमा प्रशंसा गरिएको थियो ।

मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैङ्कले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षा सहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिनुभयो । नेपाल सरकारले प्रक्षेपण गरे बमोजिम आगामी केही वर्ष दिगो रूपमा उच्च आर्थिक वृद्धि हासिल गरी सोको लाभ सन्तुलित रूपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

उहाँले सङ्घीय संरचना अनुरूप स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आय स्तर भएको मुलुकबाट मध्यम आय स्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गर्नुभयो । साथै सो अभियानमा ठुलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भए पछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैङ्क लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरूबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।

भेटका अवसरमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, आर्थिक सल्लाहकार डा. रामशरण खरेल र विश्व बैङ्क नेपाल तथा आर्थिक वित्त निगम नेपालका प्रमुख लगायत विश्व बैङ्कका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । 

प्रतिक्रिया