अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

नेपाल एयरलाइन्सले अब जापान, चीन र साउदीमा उडान भर्ने

बिआरटीनेपाल २०७६ असार १२ गते १०:०६ मा प्रकाशित

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जापानसँगै चीन र साउदी अरेबियामा उडान गर्ने भएको छ । भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारी गरेको निगमले साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडान गर्न जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि बोलपत्र आह्वान गरिसकेको छ ।

यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुङुगो एक महीनाभित्र लाग्ने निगमले जनाएको छ । जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।

निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । यस्तै, निगमले जापानको मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको निगमका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । वाइडबडी ए ३३० जहाजबाट लामो गन्तव्यमा उडान भर्ने योजनाअनुरुप निगमले जापान, चीन, साउदीलगायत अन्य गन्तव्य पनि खोजी गरेको हो । दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ ।

निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्रा्ष्ट्रिय उडानका लागि हाल २ बटा वाइड बडी ए ३३० जहाज, दुई न्यारो बडी ए ३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू