अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

हयात रिजेन्सीका आन्दोलनरत मजदूर काममा फर्किए

बिआरटीनेपाल २०७६ असार ४ गते ५:०२ मा प्रकाशित

काठमाण्डौंको होटेल हयात रिजेन्सीमा आन्दोलनरत मजदुरहरु काममा फर्किएका छन् । श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आज (बुधबार) देखि काममा फर्किएका हुन् ।

श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिनुभयो । श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानूनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदूरलाई आग्रह गरेको थियो ।

मजदूर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन । पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो । होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।

मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरिएकाले बाध्य भएर सङ्घर्षमा उत्रिनुपरेको अध्यक्ष दाहालले बताउनुभयो । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका थिए । मजदूर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो ।

हयातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । २ सय ८० कोठा रहेको सो होटलमा करीब ४०० मजदूर कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू