अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

१२ कक्षा उत्तीर्णलाईमात्र ‘नो अब्जेक्सन लेटर’– तयारी गरिरहेका विद्यार्थी मर्कामा

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ९:५७ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक वर्षदेखि तीन वर्षसम्मको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका छन् । एसइईपछि डिप्लोमा पढ्न जान तयार भएका विद्यार्थीलाई समस्या भएको हो ।

उच्चशिक्षा पढ्न जाने विद्यार्थीका लागिमात्र वैदेशिक शिक्षाका लागि अनुमतिपत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय भएसँगै त्यसको विरोध सुरु भएको हो । १२ कक्षा पास गरेका विद्यार्थीलेमात्र नो अब्जेक्सन लेटर पाउने व्यवस्था कायम गरेपछि विद्यार्थीहरुले विरोध गरेका छन् ।

एसइई उत्तीर्णपछि डिप्लोमा, भाषा र तालिमका लागि बाहिर जाने विद्यार्थीलाई सरकारले रोकेको हो । सरकारको यस्तो प्रावधानले विदेश जाने तयारी गरिरहेका विद्यार्थी मारमा परेका छन् । १२ कक्षासम्मलाई माध्यमिक शिक्षाभित्र नै राखिएका कारण सरकारले उच्चशिक्षा पढ्नमात्र बाहिर जान पाउने व्यवस्था ल्याएको हो ।

यो प्रावधानको नेपाल शैक्षिक परामर्श संघले पनि विरोध गरेको छ । पूर्वजानकारीविना नै सरकारले यो नियम लागू गराउन खोजेको भन्दै संघका उपाध्यक्ष देवीदास भट्टराईले जुनसुकै विषय पढ्न बाहिर जान चाहने विद्यार्थीलाई रोक्न नहुने बताउनुभयो । एसइईपछिको एकदेखि तीन वर्षसम्मको डिप्लोमा पनि माध्यमिक तहसम्मको नै रहेको भन्दै शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माले १२ कक्षा पास विद्यार्थीलेमात्र अब नो–अब्जेक्सन लेटर पाउने बताउनुभयो ।

डिप्लोमा पढ्न सबैभन्दा बढी विद्यार्थी जापान र अष्ट्रेलिया जाने गरेका छन् । तर, डिप्लोमा कोर्ष सकाएर स्नातक तह पनि सँगै पढ्न जाने विद्यार्थीले भने अनुमतिपत्र पाउँछन् । उपसचिव शर्माले सरकारले अर्को कानुनी व्यवस्था नल्याएसम्म यो नियम नै लागू हुने जानकारी दिनुभयो ।

पूर्वजानकारीविना नै ल्याइएको यस व्यवस्थाले डिप्लोमा पढ्न जान तयार रहेका विद्यार्थीलाई भने समस्या भएको छ । विरोध सुरु भएपछि मन्त्रालयले पनि छलफल सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू