अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

गण्डकी मेडिकल कलेज पोखराका सिइओ र परीक्षा नियन्त्रक प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७५ फागुन २२ गते ९:२२ मा प्रकाशित

गण्डकी मेडिकल कलेज पोखराका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुसँग बढी शुल्क लिइ ठगी गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाका अनुसार विद्यार्थीसँग ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको छ ।

यसअघि मनपरी शुल्क असुलेको भन्दै ठगी मुद्धामा विद्यार्थीको उजुरीपछि प्रहरीले अदालतसँगको अनुमतिमा गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । विद्यार्थीको उजुरीपछि जिल्ला अदालतले १० जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुधबार अनुमति दिएको हो ।

कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्मा, लेखाकै हरिमाया पौडेल, प्रशासन तर्फका दिनेश पौडेल, पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कलेजका कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

उनीहरु विरुद्ध कलेजको एमबिबिएस अध्ययनरत ३ विद्यार्थीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मंगलबार उजुरी दर्ता गराएका थिए । बुधबार नर्सिङ तर्फका १५ जना विद्यार्थीले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता गराएका छन् ।

सरकारले काठमाडौंबाहिरका लागि ४२ लाख ४५ हजार र भित्रका लागि ३८ लाख ५० हजार शुल्क तोके पनि गण्डकी मेडिकल कलेजले विना रसिद १० देखि १५ लाख रुपैयाँसम्म लिएको विद्यार्थीले जनाएका छन् । नेपाल मेडिकल काउन्सिलबाट गएको अध्ययन टोलीले समेत बढी शुल्क लिएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।

माघ तेस्रो सातादेखि आन्दोलतरत विद्यार्थी धर्नासँगै अस्पतालमा तालाबन्दी गर्दा समेत विद्यार्थीका माग सम्बोधनको प्रयास हुन सकेको छैन् । विद्यार्थीले दिएको उजुरीमा कलेज प्रशासनले बाध्य बनाएर अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको, विद्यार्थीपिच्छे फरक शुल्क असुलेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू