अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

चट्ट रुमाल बोलको गीत यात्रामा पनि हेर्न पाउने

बिआरटीनेपाल २०७५ फागुन १७ गते ११:३९ मा प्रकाशित

फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई दर्शकले यात्रामा पनि हेर्न पाउने भएका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यसगीतलाई रि एरेन्ज गरेर फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ राखिएको छ । आउँदो चैत्र २९ मा रिलिज हुने फिल्ममा समावेश गीतको केही तस्बिर सार्वजनिक गर्दै निर्माण टिमले गीत रहेको प्रस्ट्याएको छ । 

सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा सङ्गीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राईले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् ।

गीतलाई प्रवीण सिंहले कोरियो ग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनिया, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् ।

गीत केही समय अगाडी नै छायाङ्कन गरिएता पनि निर्माण पक्ष यसबारे केही जानकारी गराएको थिएन । फिल्ममा सुहाउँदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनी फिल्म यात्राका निर्माता मध्यका एक हुन् भने आफ्नो मान्छेमा पनि उनी निर्माता थिए । 

गीतमा कलाकारहरू रेगुलर भन्दा केही फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायाङ्कन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ ।

फिल्ममा उनी भ्ल्गिस्टको भूमिका छन् । फिल्मलाई सम्राट् शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भई यसक्षेत्रमा भित्रिएका सम्राट्ले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरू के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होम वर्क, छक्का पन्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए । 

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डङ्गोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै छिन भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुत कर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका हुन् । फिल्ममा प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहेको छ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

केशव भट्टराई: हामीलाई एउटा लोकलयको गीत चाहिएको थियो । त्यो फिल्मले परिस्थितिले नै डिमाण्ड गर्छ । हामीले केही नयाँ कम्पोज पनि नसुनेको होइन तर सबैले आफ्नै फिल्ममा समावेश चट्ट रुमाललाईनै राखौँ भनेपछि फिल्ममा राखिएको हो । यसले गीतलाई नयाँ पुस्ता माझ पनि लैजान्छ भन्ने विश्वास छ । गीतमा सबैले मेहनत गरेका छन् किनकि यो सबैको प्रिय गीत हो । 

सम्राट् शाक्य: हाम्रो स्टोरीको डिमाण्ड अनुसार एउटा लोक शैलीको गीत चाहिएको थियो । हामीले सुन्दै गएपछि कथामा चट्ट रुमाल नै सुहाएको पायौ । त्यसपछि केशव दाइसँग कुरा गरेर उहाँकै फिल्मको गीत भएकोले यसमा प्रयोग गरेका हौ । गीतले हामीलाई चर्चा त दिन्छ नै साथै गीतलाई हामीले नयाँ पुस्तामा पुग्ने किसिमले तयार गर्ने प्रयास गरेका छौ । साथै गीतमा सलिनलाई पनि भिन्न रूपमै दर्शकले पाउनु हुन्छ । गीतले दर्शकलाई मनोरञ्जन नै दिन्छ भने गीतको भाव नमर्ने गरी रि(एरेन्ज गर्ने कोसिस गरेका छौ ।

सलिनमान बनिया: म यस किसिमको गीतमा पहिलो पटक देखिदैछु । पहिला सुरुवाती दिनमा मलाइ सहज त पक्कै थिएन तर हामीले कोसिस भने गरेका छौ । गीतकै लागि निकै समय प्राक्टिस गर्‍यौ । कोरियोग्राफरको अनुसार हामीले नृत्य गर्ने कोसिस गरेका छौ । श्रीकृष्ण सर र नीरुता म्याम जस्तो त पक्कै गर्न सकिएन तर मेहनत भने पक्कै छ । साथै, यो गीतले दर्शकलाई नयाँ टेस्ट भने पक्कै दिन्छ ।

प्रतिक्रिया