अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 10:31

अव स्वाधिन अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्छ –  मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:१७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भएको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीले २४ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण गर्नमा जनआन्दोलन र जनयुद्धको एकीकृत तथा निर्णायक भूमिका रहेको बताउनुभयो ।

तत्कालिन एमालेले जनआन्दोलनबाट मात्र परिर्वतन भयो भन्ने र माओवादीले जनयुद्धबाट मात्र भयो भन्नु पुरानो मान्यता रहेको उल्लेख गर्दै उहाँले नेपालको राजनीतिक परिर्वतन शान्तिपूर्ण र सशस्त्र सङ्घर्षको फ्युजनबाट भएको बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले राजनीतिक अधिकार प्राप्तिपछि अव स्वाधिन अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्ने बताउँदै मुलुकका तिनै तहका सरकारको मुख्य मुद्दा समृद्धि भएको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री गुरुङले सरकारलाई काम गर्नका लागि अहिले ठूलो अवसर भएको बताउँदै इतिहास र जनताले कदर गर्ने गरी अर्को निर्वाचनमा यो भन्दा ठूलो स्केलमा विजयी हुनेगरी काम गर्न दृढतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीका प्रदेश सह इन्चार्ज तथा सङ्घीय संसद्का सदस्य खगराज अधिकारीले केन्द्रमा गुटगत स्वार्थका कारणबाट पार्टीका तत्लो तहको एकीकरणमा ढिलाइ भएको भन्दै अब प्रदेशका गाउँपालिका, नगरपालिका र महानगरमा एकीकरण प्रक्रियाबाट अघि बढाइने बताउनुभयो ।

प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले विगतमा नेकपा एमाले र माओवादी दुबैले फरक/ फरक तरिकाबाट सङ्घर्ष गरेको चर्चा गर्दै अब एकीकृृत भएको नेकपाले जनअपेक्षाअनुरुप काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला पार्टी संयन्त्रका सदस्य दामोदर वैरागी तथा बखानसिंह गुरुङलगायतले अधिकारको आन्दोलनका लागि जनयुद्ध र जनआन्दोलनको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू