अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

क्रिश्चियन धर्मसँग आफ्नो नाम जोडिएको भन्दै नेकपा नेता माधव नेपाल आक्रोसित

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:२५ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्रा्ष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको पनि स्पष्टिकरण दिनुभयो ।

सोमबार संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए । सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गर्नुभयो ।

नेता नेपालले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाउनुभएको छ । बरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले एसिया प्यासिफिक समिटमा पहिलोपटक सहभागी हुने वीपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिनुभएको थियो ।

सो समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू