अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

मेलम्ची आयोजनाको काम अघि बढाउन कुनै समस्या नभएको प्रधानमन्त्री ओलीको दाबी

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । आज ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको बताउँदै समयमै यसले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गर्नुभएको छ । उहाँले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गइरहेका बेला पनि प्रधानमन्त्री ओलीले आयोजनाको कामलाई पूर्णता दिन ढिलाई नहुने बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले हरेक दिन एक पाइला अघि बढ्ने गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्ने प्रतिवद्धता पनि दोहो¥याउनुभयो ।

उहाँले काठमाडौं उपत्यकामा स्वच्छ हावा, सफा र पिउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ । कुल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

प्रधानमन्त्री ओलीले प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा खानेपानी मन्त्री विना मगरले आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै खालको सहयोग निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू