अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

१५ औं संस्करणको लेखनाथ महोत्सव शुरु

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:३१ मा प्रकाशित

१५ औं संस्करणको लेखनाथ महोत्सव आज (विहीबार) बाट शुरु भएको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा आजदेखि पुष १६ गतेसम्म हुने महोत्सवको संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री खतिवडाले सन् २०२० सम्म मुलुकमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो । सन् २०१८ भित्रै १२ लाख पर्यटकले नेपाल भ्रमण गरिसक्ने उल्ल्ेख गर्दै उहाँले पर्यटनकै माध्यम बाट धेरै भन्दा धेरै युवालाई रोजगारी मिल्ने बताउनुभयो । मुलुकमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन ठूला होटल, विमानस्थल, स्तरीय सडक छिटोभन्दा छिटो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा औद्योगिक एवं व्यवसायिक प्रबद्र्धनको लक्ष्य राखिएको छ । औद्योगिक उत्पादन तथा हस्तकलाका उत्पादनको बजार प्रबद्र्धन, स्थानीय उत्पादन, लघु तथा घरेलु तथा साना उद्योगहरुको प्रबर्द्धन आवश्यक ज्ञान, उद्यमशीलता र प्रविघि हस्तान्तरण, दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रबर्द्धन लगायतका उद्देश्य सहित महोत्सव आयोजना गरिएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जातीय भेष भुषा, कला संस्कृति र रीति रिवाजको जर्गेनामा टेवा पुर्याउने साथै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धनमा समेत महोत्सवले सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

महोत्सवमा ३५० स्टल रहेका छन् । अटोका ९, शैक्षिक २०, कृषि सम्बन्धि २२, किचनका ३२, मेशीनरी २१, हस्तकलाका सामानको ९, गार्मेन्टका ११०, जुत्ताको १०, औद्योगिक उत्पादनका १३, फुड तथा बेभरेजको ३२, डेरी १०, सूचना प्रविधि १९, रेष्टुरेन्ट १६, बैंक तथा वित्तीय संस्थाको २७ स्टल रहेको प्रचार प्रसार समितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिनुभयो । महोत्सवमा शैक्षिक प्रदर्शनी, खुल्ला कविता प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, उत्कृष्ट साँस्कृतिक प्रदर्शनी, विभिन्न जाति समुदायका भेष भेषा झल्कने झाँकी तथा र्याली, गण्डकी तारा गायन प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको छ ।

महोत्सव अवलोकनका लागि प्रवेश टिकट साधारणतर्फ प्रति दिन रु ६०, विद्यार्थीलाई रु ४०, कन्सर्टका लागि रु १०० तथा महोत्सव अवधिभरको प्रवेश पासका लागि रु २५० शुल्क तोकिएको पनि आयोजकले जानकारी दिएको छ । यसका साथै महोत्सव अवलकोनका लागि जाने ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा एकल महिलालाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने, २० करोडसम्मको कारोबार हुने अपेक्षा आयोजकको छ । त्यस्तै महोत्सवबाट १ करोड २५ लाख आम्दानी, ९० लाख खर्च हुने र ३५ लाख बचत हुने अनुमान आयोजकको रहेको छ । महोत्सवबाट बचत हुने आयबाट कृषि उपज खरिद बिक्री केन्द्र निर्माण तथा प्रदर्शनी स्थलको स्तरोन्नत्ती गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू