अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता

बिआरटीनेपाल २०७५ पुष ४ गते ५:०५ मा प्रकाशित

तीन महिनाको कसरतपछि काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन स्वीकृत गर्दै विस्तृत परियोजना प्रतिवेदन डिपिआरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमबीच काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनी सिसिआरसीका ओरभसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यू ग्वाङविङले सहमतित्रमा हस्ताक्षर गर्नुभयो ।

सम्भाव्यता अध्ययनका लागि गत वैशाख २० गते आशयपत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो। सम्झौता बमोजिम छ महिनाको समय दिइए पनि तीन महिनामै कम्पनीले प्रतिवेदन बुझाएको थियो। चुनावी घोषणपत्रमै मोनोरेल निर्माणको योजना अघि सारेका काठमाडौं महानगरका मेयर शाक्यले सबैको सपनाको रूपमा रहेको मोनोरेल निर्माणमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।
कम्पनीलाई डिपिआर बनाउन एक वर्ष समयावधि दिइएको छ। रिपोर्ट दिएपछि निर्माणका लागि टेन्डर आह्वान हुनेछ। मोनोरेल निर्माण बुट (बनाउने, स्वामित्वमा लिने, चलाउने र सरकारलाई हस्तान्तरण गर्ने) मोडलबाट हुनेछ। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफूले पनि चुनावी घोषणापत्रमै मोनोरेल निर्माणबारे उल्लेख गरेकाले डिपिआरका लागि सम्झौता हुनु निकै खुसीको क्षण भएको बताउनुभयो ।

डिपिआरमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन, मोनोरेलको डिजाइन, प्राविधिक एंव निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण हुनेछ। डिपिआरको तयार गर्दाको लागत सिसिआरसीले नै व्यहोर्नेछ। यसअघि प्रारम्भिक अध्ययन प्रतिवेदन गर्दा पनि उसले नै लागत व्यहोरेको थियो। २७ किलोमिटर चक्रपथमा १० किलोमिटर ललितपुर महानगर अन्तरगत पर्दछ। मोनोरेल निर्माणका लागि करिब १ खर्ब १६ अर्ब रुपैयाँ लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू