अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

पूर्वमन्त्री बिक्रम पाण्डे विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:३७ मा प्रकाशित

पूर्व वनमन्त्री विक्रम पाण्डे सहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै मुद्दा दायर गरेको हो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पूर्वमन्त्री पाण्डे सहित तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ ।

सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

मुद्दामा पूर्व आयोजना प्रमुखहरुमध्ये सरोजचन्द्र पण्डितमाथि ५९ करोड, ३४ लाख, ५२ हजार ५ सय ९४ रुपैया, दिलिप बहादुर कार्कीमाथि १ अरब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९ र रमेश बस्नेतसँग २ अरब, १३ करोड, ७६ लाख , ७९ हजार, ९ सय २० विगो दावी गरिएको छ । यस्तै पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैया भ्रष्टाचार गरेको भन्दै विगो दावी गरिएको छ ।

सिक्टा सिंचाई आयोजनाको मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटी गरेको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय काम हुन नसकेको अख्तियारले जनाएको छ । एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको उजुरीपछि आयोगले छानविन थालेको अख्तियारका प्रवक्ता दंगालले जानकारी दिनुभयो । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू