अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

बिकास र ज्ञानका लागि बेगनासतालमा विराट ज्ञानमहायज्ञ, महायज्ञको तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७५ मंसिर २० गते ९:०६ मा प्रकाशित

कास्कीको पोखरामा रहेका तालहरुमध्ये दोस्रो ठूलो ताल बेगनासताल र यस वरिपरिका क्षेत्रमा विकासका पूर्वधार निर्माण तथा यस ठाउँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने र सकरात्मक कुराको ज्ञान दिने उद्देश्यले बेगनासतालमा विराट ज्ञानमहायज्ञको आयोजना गरिने भएको छ । बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृ उद्धार धार्मिक कार्यअन्तरगत महायज्ञ गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

बेगनासताल किनाराको पानीमाथि नै स्टेज बनाएर मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा आयोजना गर्न लागिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । पूर्वीय दर्शनअनुसार पितृ तथा मृतात्माहरुको शान्तिले पनि धेरै बाधा अड्चन नष्ट हुने विश्वास छ । यसका लागि महायज्ञ अवधिभर दिवंगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न हुन पाउने व्यवस्थासमेत महायज्ञमा गरिएको छ । आयोजकका अनुसार अहिलेसम्म बेगनासतालमा दुर्घटना वा विभिन्न कारणले १०४ जना भन्दा बढिले अकालमा ज्यान गुमाएको तथ्यांक छ । उक्त तथ्यांकमा झण्डै सय वर्ष अघिदेखिका मृतात्माहरु संकलित छन् ।

भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन हने उक्त महायज्ञबाट करिव पाँच करोड संकलन गर्ने र खर्च कटाएर चार करोड ७५ लाख बचत गर्ने लक्ष्य राखिएको महायज्ञका मुल संयोजक डिल्लीरमण तिवारीले जानकारी दिएका छन् ।

सनिवारदेखि सुरु हुने महायज्ञलाई सफलतापूर्वक संचालन गर्नका लागि पूर्व न्यायाधीश डिल्लीरमण तिवारीको अध्यक्षतामा एक हजार आठ सदस्यीय मूल आयोजक समिति, १५ सदस्यीय कार्यसम्पादन समिति र प्रचार प्रसार उपसमिति गरी ४७ वटा उपसमितिहरु गठन गरिएको छ । महायज्ञका लागि समारोह व्यवस्थापन, जनपरिचालन, मण्डप तथा मंच व्यवस्थापन, भोजन, सरसफाई सुरक्षालगायतका संपूर्ण प्राविधिक तथा सामाजिक कामहरु बाँडफाँड गरि अन्तिम तयारीमा जुटेको महायज्ञ आयोजक समितिका महासचिव तथा प्रवक्ता धु्रबनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया