अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखा थापालाई

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ११:१५ मा प्रकाशित

हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान – २०७५ सम्पन्न भएको छ । मङ्सिर १७ गते बागबजार स्थित हार्दिक होटेलमा सम्पन्न सम्मान समारोहमा ३ दशकभन्दा बढी समय देखि नेपाली रङ्गमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण/संवर्द्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पुर्‍याए बापत श्री लय संग्रौलालाई तथा लगभग दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए बापत श्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार –२०७५ सम्मान पत्र सहित जनही २५ हजार नगद राशि अन्तर्राष्ट्रिय टेनिस खेलाडी मायाका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री वसुन्धरा भुसालद्वारा अर्पण गरिएको छ । 

त्यसैगरि परिवर्तन नेपालले गत साल देखि स्थापना गरेको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५ सम्मान पत्र तथा नगद राशि जनही १० हजार सहित ३ दशक देखि नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए बापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रङ्ग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण संवर्धनमा योगदान पु¥याए बापत श्री विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट अर्पण गरिएको छ । 

यस्तै अभिनेता निर्देशक श्री रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक÷निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ठ चलचित्र पत्रकार/गीतकार शान्ति प्रिय रहेका थिए । 

हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्री द्वय मायाका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै यस कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल तथा पुरस्कृत व्यक्तित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए । नीराजन भण्डारीले सञ्चालन गरेको यस पुरस्कार अर्पण समारोहमा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया