अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

अजर अमर स्वरसम्राट नारायण गोपाल

बिआरटीनेपाल २०७५ मंसिर १८ गते ९:१९ मा प्रकाशित

‘म त लालीगुराँस भएछु,
वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’

नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बित्दैछ । नारायण गोपाल दिवंगत भएको यतिका बर्ष वितिसकेपनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।
‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाउनुभयो, सबै गीत त्यति नै लोकप्रिय र उचाइका छन् ।

स्वरसम्राट नारायण गोपालले विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो र त्यही बेलादेखि नै उहाँले आफ्नो साङ्गीतिक यात्र शुरु गर्नुभएको थियो । सबैभन्दा पहिला स्वरसम्राट नारायण गोपालले साथी मणिकरत्न स्थापितको घरमा बसी उहाँका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिक्नुभएको थियो । पहिलो पटक उहाँले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाउनुभएको थियो ।

स्वरसम्राट नारायण गोपालका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भन्न्ुभएको छ , ‘नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।’ उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उनी आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व थिए’ ।

यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ ए।।। जाने नि निठुरी’

नारायण गोपाल स्वयंको शब्द र सङ्गीतमा रहेको यस गीतमा पङ्कज सिग्देलले सङ्गीत दिएका थिए । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको सङ्गीतकार बुलु मुकारुङ बताउँनुहुन्छ । ‘उनलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउँथे, त्यसैले कसै कसैले उनलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उनी त्यस्तो थिएनन,’ मुकारुङ थप्नुहुन्छ, ‘उनी बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउँथे ।’ उनलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उनलाई बद्नाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको मुकारुङ्ग बताउँनुहुन्छ ।

नारायण गोपालको भेट दाजर्लिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उहाँको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा स्वरसम्राट नारायण गोपाल र गोपाल योञ्जनका बीच मितेरी साइनोसमेत जोडिएको थियो ।

नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाउनुभएको छ । उहाँलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै स्वरसम्राट नारायण गोपालले दार्जि्लिङका हरिभक्त कटुवालका गीतसमेत गाउनुभएको छ ।
‘जुन फूल मैले टिपेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उहाँले गाउनुभएको थियो । दार्जि्लिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो ।

पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि स्वरसम्राट नारायण गोपालको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उहाँ र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । निःसन्तान भएपनि स्वरसम्राट नारायण गोपाल पारिवारिक कारणबाट कहिल्यै निराश हुनुभएन ।

विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपालले भने कहिल्यै चाकडी गर्न रुचाएउनुभएन । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उहाँले कहिल्यै पनि त्यस्ता व्यक्तिसँग सङ्गत गर्नुभएन । सीमित व्यक्तिसँग मात्र मित्रता र सङ्गत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावको हुनुहुन्थ्यो ।

नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भएपनि स्वरसम्राट नारायण गोपाल नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहेको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउँनुहुन्छ । सङ्गीतकार रायमाझी भन्नुहुन्छ, ‘उनको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।’ स्वरसम्राट नारायण गोपालले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको रायमाझी बताउनुहुन्छ ।। आफूले एकपटक भेटेको व्यक्तिलाई नारायणले कहिल्यै पनि नभुल्ने रायमाझीको भनाई छ ।

नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत गीत गाउनुभएको थियो । गोपालले गाएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्ण्प्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ ले उनलाई अझै चर्चाको शिखरमा पु¥याएको थियो ।

स्वरसम्राट नारायण गोपालले आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिनुभएको थियो । ‘हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन वाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले आवाज दिनुभएको छ । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।

स्वरसम्राट नारायण गोपालले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिनुभएको छ । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उहाँका गीतका प्रमुख विशेषता हो ।
उहाँले पहिलोपटक प्रेमध्वज र मणिकको सङ्गीतमा गीत गाउनुभएको थियो । राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत नारायण गोपालमा कहिल्यै पनि घमण्ड भने थिएन ।

नाचघरमा उहाँ कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी सङ्गीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुग्नुभएको थियो । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्नुहुन्छ । पछि नारायण गोपालले विसं २०३९ मङ्सिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाउनुभएको थियो ।

सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको सायमकिो भनाई छ । सायमी भन्नुहुन्छ, ‘सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।’ नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको सायमीको भनाई छ । उहाँ थप्नुहुन्छ, ‘उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउँनुहुन्थ्योे ।’ नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ ।

प्रतिक्रिया