प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘धर्म परिवर्तन उद्योग’ गरेको अभियोग लगाउँदै अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेले प्रहरीकोमा दर्ता गराउन खोजेको जाहेरी प्रहरीले अस्विकार गरेको छ । मंगलबार मध्यान्ह मुलुकी अपराधसंहिता–२०७४ को दफा १५८ को १, २ बमोजिम प्रधानमन्त्री केपी ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालविरुद्धको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्विकार गरेको हो ।
प्रधानमन्त्री विरुद्धको जाहेरी पढेपछि काठमाडौं प्रहरी प्रमुख (एसएसपी) वसन्त लामाले दर्ता गर्नुको साटो अधिवक्ता पोखरेललाई हप्काएर पठाएको परिसरमा कार्यरत एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । भर्खरै काठमाडौंमा सम्पन्न ‘विवादित’ एसिया प्यासिफिक समिटमा आम नेपालीलाई क्रिस्चियन धर्मप्रति आकर्षित एवंं बाध्य पार्नेगरी गतिविधि गरेको भन्दै अधिवक्ता पोखरेलले अनुसन्धान गरेर कानुन अनुसार कारवाहीको माग गर्दै जोहेरी दिनुभएको हो ।
सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडरेशन (युपिएएफ) का अध्यक्ष समेत रहेका एकनाथ ढकालविरुद्ध पनि अधिवक्ता पोखरेलले ‘धर्म परिवर्तन उद्योग’ मुद्दामा कारबाही गर्नुपर्ने जाहेरीमा उल्लेख गर्नुभएको छ ।