अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेला विहीवारदेखि पोखरामा सुरु

बिआरटीनेपाल २०७५ मंसिर १३ गते ८:४१ मा प्रकाशित

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबारबाट सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । एक्स्पो नयाँबजारको प्रदर्शनी केन्द्रमा मंसिर २४ गतेसम्म जारी रहने छ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ । यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी गरी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्न पनि मेलाको आयोजना गरिएको हो ।

एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रका उद्योगहरुका उत्पादन, मोवाइल र मोवाइलका सामानहरु, पर्यटन प्रवर्धनात्मक स्टल, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी,हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुसहित ३ सय प्रदर्शनी कक्षहरु राखिएका छन् ।

एक्स्पोको उद्घाटन गर्दै गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न प्रदेश सरकार तयार रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री गुरुङ्गले सिमेण्ट कारखानालगायतका ठूला परियोजनामा लगानी गर्न पोखराकोे निजी क्षेत्रसँग आग्रह पनि गर्नुभयो ।प्रदेश सरकारलाई आवश्यक पर्ने ७० देखि ८० प्रतिशत कर्मचारीले काम थालेको र सेवा दिने केही कार्यालयहरु संचालनमा आई सकेकोले अब विकास निर्माणका कामले गति लिने उहाँको दावी थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामञ्जस्यताको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताउनुभयो । राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्न हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नहुँदासम्म देशका आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसक्ने मुल्मकिो भनाई थियो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अब राजनीतिक अस्थिरतालाई दोष दिएर सम्वृद्धि हासिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वलाई नभएको बताउनुभयो । केन्द्रीय सरकार गठनपछिका ९ महिना निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारका लागि पनि सुखद नभएको बताउँदै उहाँले सरकारको विकास बजेट खर्च गर्ने गति असाध्यै सुस्त भएकोमा असन्तुष्टी जनाउनुभयो ।

समुद्घाटन सत्रको अगाडि संघको सचिवालयदेखि प्रदर्शनी स्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा उद्योगी–व्यवसायीहरु सहित ५८ वटा आमा समूहको सहभागिता रहेको थियो । मेलाको दोस्रो दिन शुक्रबारबाट विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

 

प्रतिक्रिया