अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

सामाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ मंसिर ११ गते ८:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताउनुभएको छ । प्रज्ञा भवन कमलादीमा पहिलो सामाजिक सुरक्षा दिवसका अवसरमा  आयोजित समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यन्त सम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताउनुभयो ।

सामाजिक सुरक्षा योजनाको सुरु गर्दै प्रधानमन्त्री ओलीले २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरूलाई उडाउने गरे पनि आज सार्थक भएको दावी गर्नुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ ‘सरकार कहाँ छ भनेर प्रश्न गर्नेलाई गतिलो जवाफ भएको उहाँको भनाइ थियो । बिरामी, आम्दानी भएका र नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । केही दिनअघि मात्र नेपाली काँग्रेसले सरकार कहाँ छ भन्दै पत्रकार सम्मेलनमार्फत प्रश्न गरेको थियो । प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको र सरकार जनताले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाउनुयो ।

प्रधानमन्त्री ओलीले सरकारले सकेको जति काम गरेको भन्दै आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी गर्नुभयो । मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी गर्नुभयो । सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसको उदारीकरण नीतिलाई प्रधानमन्त्री ओलीले नक्कलको भरमा ल्याएको संज्ञा दिनुभयो ।  प्रधानमन्त्री ओलीले आफूहरूले ज्येष्ठ नागरीकलाई भत्ता दिँदा ढुकुटी रित्याएको आरोप समेत खेप्नुपरेको बताउनुभयो । सामाजिक सुरक्षाको योजनाले श्रम गर्ने सबैलाई समेट्नेमा जोड दिँदै प्रधानमन्त्रीले आम्दानी अपुग हुँदा थप आम्दानी र आम्दानी नै नहुनेले सहायक आम्दानीको रूपमा यसलाई प्रयोग गर्न पाउने धारणा राख्नुभयो । श्रमजीविको उच्च ज्याला लिने चाहना र श्रमदातादाताको उच्च उत्पादन गर्ने चाहनाले अव पूर्णता पाउने प्रधानमन्त्रीको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू