अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

सरकारद्धारा श्रमिकका लागि पेन्सन सहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा

बिआरटीनेपाल २०७५ मंसिर ७ गते ८:३२ मा प्रकाशित

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जनाएको छ । यो योजना लागू भएपछि योगदानमा आधारित पेन्सन समेत सुरु हुनेछ ।

सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी उक्त रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशतबराबर कोषमा जम्मा गर्नुपर्ने छ ।
कार्यक्रममा वोल्दै श्रमसचिव महेश्वर दाहालले सामाजिक सुरक्षा योजना सञ्चालनको लागि आवश्यक पर्ने सबै कानुन तथा कार्यविधिहरु पूरा भएको बताउनुभयो । सरकारको यो कदमले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर भई औद्योगिक लगानीको लागि वातावरण बन्नुको साथै श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी भएको उहाको भनाई छ ।

कार्यक्रम अन्तर्गत ६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना बापतको शुल्क, निदान तथा परिक्षण सेवा बापतको खर्च औषधि बिलबमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा– आउँदाको खर्च पाउने छन् ।

अस्पताल भर्ना भई उपचार गराउँदा वर्षमा एक लाखसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँसम्म सुविधा पाईनेछ । यसैगरी बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदाबापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू