अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

सरकारले निर्वाचनका प्रतिबद्धता बिर्सेको छैनः पर्यटन मन्त्री अधिकारी

बिआरटीनेपाल २०७५ मंसिर १ गते ६:५५ मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले जनचाहना अनुरुप सुव्यवस्थाका साथै तीनवटै सरकारको समन्वयका माध्यमबाट आर्थिक समृद्धि र विकासको लक्ष्यमा सरकार लागिरहेको जिकिर गर्नुभयो ।

देश लामो समयसम्म राजनीतिक अस्थिरता एवं सङ्क्रमणमा रुमल्लिएको बताउँदै मन्त्री अधिकारीले वर्तमान स्थिर एवं दीर्घकालीन सरकार क्षणिकतामा अलमल नगरी अघि बढ्नेमा जोड दिनुभयो । भारत सरकारबाट विद्यालय भवन निर्माणका लागि प्राप्त सहयोग यहाँका विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उहाको विश्वास थियो । विद्यालयले प्रस्ताव गर्दै आएको प्राविधिक शिक्षा कार्यक्रम आगामी शैक्षिक वर्षदेखि सञ्चालन गराउनका लागि आफूले पहल गरिरहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा वोल्दै भारतीय राजदूतावासका उपप्रमुख डा अजय कुमारले भारत सरकारले नेपालको शिक्षालगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने जानकारी गराउनुभयो । विद्यालयको भवन निर्माणसँगै यस क्षेत्रका बालबालिकाको भविष्य निर्माण समेत भइरहेकोमा कुमारको जोड थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू