अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनुवाइ सर्यो

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते ८:०८ मा प्रकाशित

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनाइ मंसिर ३ गतेलाई सरेको छ । राउतको गिरफ्तारी कानुन बमोजिम भएको थियो या थिएन भन्ने विषयमा सुनुवाईका लागि शुक्रबार पेशी तोकिएको थियो । राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट निवेदन रौतहट जिल्ला अदालतमा हाल्नुभएको थियो । अदालतको आदेशअनुसार सुनुवाइका लागि शुक्रबार पेशी तोकिएकोमा विपक्षी जिल्ला अदालतमा सूचना नै नपुगेकोले सुनुवाइ सरेको हो ।

न्यायाधीशहरु दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले गरेको आदेशमा ‘विपक्षीहरु मध्येको जिल्ला अदालत रौतहटका नाउँमा सूचना म्याद तामेल भई आएको नदेखिएको साथै इजलास समक्ष विपक्षीको प्रतिनिधित्वसमेत भएको नदेखिँदा’ अर्को तारेख मिति तोकिएको उल्लेख छ ।

बन्दी प्रत्यक्षीकरणको सुनुवाइका क्रममा राउतलाई सशरीर उपस्थित गराउन प्रहरीलाई दिइएको आदेश बमोजिम बिहिबार काठमाडौं लाइएको थियो । गत असोज २१ गते जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारिख लिएर फर्कदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू