मुद्दा मिलाइदिने बहानामा घुस स्वरुप टेलिभिजन सेट माग्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख डिएसपी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरिएको जनाईएको छ । राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको रुपमा घुस माग्दा अख्तियारले १ लाख ४० हजार रुपैयाँ नगदसहित एक महिना अघि नियन्त्रणमा लिएको थियो ।
राईले टिभी सेट आफै खरिद गरेर ल्याउने र पैसा सेवाग्राहीबाट तिर्न लगाउने गरेका थिए । यसै सिलसिलामा एक सेवाग्राहीबाट टिभीको पैसा तिर्न लिएको घुस रकमसहित उनी अख्तियारको फन्दामा परेका हुन् । अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार राईलाई बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।