अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

नेकपाको सांगठनिक एकता प्रक्रिया अन्योलमा, स्थायी कमिटी बैठक अनिश्चित

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ४:४९ मा प्रकाशित

पार्टी एकीकरण भएको ६ महिना बितिसक्दा पनि सांगठनिक एकता प्रक्रिया टुंगो नलाग्दा पार्टी अर्को विवाद सुरु भएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिति बैठक आह्वान नगर्दा शीर्ष नेताहरु नै सार्वजनिकरुपमा असन्तुष्टि पोख्न थालेका छन ।

नेकपामा ४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको मात्र टुंगो गलाइएको छ । त्यसबाहेक तल्ला तहका कमिटी र अरु जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । तल्ला कमिटको अलमलिएको एकतालाई गति दिन स्थायी कमिटिमा छलफल गरिने भनिएपनि बैठकनै बस्न सकेको छैन ।

तत्कालीन एमाले र नेकपा माओवादी दुबै पार्टीका सांगठनिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यदल गठन भएका थियो । केन्द्रमा महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सदस्य रहेको अर्काे कार्यदल गठन गरिएको छ । प्रदेशस्तरीय कार्यदलले पौडेल र थापा सदस्य रहेको केन्द्रीय कार्यदलमा बुझाएको प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्डले आफ्ना गुटकालाई मात्र समावेश गरेको भन्दै शिर्षष्त नेताहरुलेनै विरोध गर्दै आएका छन् ।

यसैलै बैठक बोलाउन बिलम्ब गरेको भन्दै नेकपामा असन्तुष्ट आउन थालेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले एकताको भावनाविपरीत एकलौटी रुपमा सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन स्थायी कमिटि बैठक छलेको भन्दै असन्तुष्टि आएका हुन् ।

कात्तिक १२ गते बोलाईएको स्थायी कमिटि बैठक स्थगीत भएपनि अब कहिले बस्छ ? भन्ने अन्यौल छ । प्रदेशको सांगठनिक एकता र केन्द्रीय सदस्यहरुको कायविभाजन गर्न पौडेल र थापा सदस्य रहेको कार्यदललाई एक साताको म्याद दिइए पनि विवादकै कारण अझै प्रतिवेदन नबुझाएको नेताहरु बताउँछन् ।

एकता प्रक्रिया टुंगो लगाउन सचिवालयको बैठक पटक–पटक बसे पनि आन्तरिक समस्या समाधान गर्न नै अध्यक्षद्वयलाई बढी समय लागेको नेताहरुको भनाई छ । यस विषयमा बरिष्ठ नेता खलालले सार्वजनिक कार्यक्रम मार्फतनै असन्तुष्टी जनाएका छन् । अध्यक्षद्वय ओली र प्रचण्डले अरु पक्षलाई पेलेर अगाडि बढ्न खोजेको संकेत गर्दै उनले छिट्टै स्थायी समिति बैठक बोलाउन माग गरेका छन् ।

यसअघि स्थायी कमिटि सदस्य योगेश भट्टराईले पनि बैठक छिट्टै बोलाउन माग गरेका थिए । पार्टी अध्यक्ष ओली अस्पताल भर्ना भईरहँदा उनले ओलीको स्वास्थ लाभको कामना गर्दै बैठक छिट्टै बोलाउन माग गरेका थिए । जेठ ३ गते पार्टी एकता घोषणा भएयता असार २ र साउन २४ गते दुई पटक स्थायी कमिटी बैठक बसेको थियो । त्यसपछि कात्तिक १२ गतेबाट आह्वान गरिएको अर्काे बैठक भने स्थगीत भएपछि अझै बस्न सकेको छैन ।

४५ सदस्यीय स्थायी कमिटी बैठकका धेरै कार्यसूची छन् । सरकारको कामकाज प्रभावकारी हुन नसकेको जनगुनासो बढिरहेका बेला स्थायी कमिटी बैठकमा त्यसबारे समीक्षा हुने र नेताहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू