आज राजधानी तथा तराईमा छठपर्व मनाइदैं छ । आईतबार देखी शुरु भएको छठपर्व प्रकृतिप्रति कृतज्ञता र सुर्य देवको आराधाना गर्दै व्रत राखी मनाइन्छ । सबै मानव र जीवहरु प्रति सहानुभुति राख्दै अहिसा र सत्य प्रति सबै मानिहरुको ध्यान बढाउने उद्देश्यले मनाईने यो पर्वमा आज अस्ताउँदो र भोली उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
छठपर्वमा आवश्यक सामानहरुको खरिद बिक्रीले बजारमा पनि चहलपहल बढेको छ । विषेश गरि फुलमाला, विभिन्न प्रकारका विजुलीका बत्तीहरु र फलफुलहरुको किनमेल बढेको छ । तिहारमा र छठपर्वमा नै बर्ष भरिमा भन्दा ४ गुना बढी व्यापारहुने फलफुल व्यापारी कलिक नुर हुसेनको भनाई छ । व्यापारीहरु बजारको आवश्यकतालाई हेरी मुल्य वृद्धि गर्ने गर्दछन् । केही समय अगाडी भन्दा अहिले फलफूलमा व्यापारीले दोब्बर मूल्य बढाएको उपभोक्ताको गुनासो छ । आवश्यक सामान किन्नै पर्ने हुँदा व्यापारीले मौकाको फाईदा उठाएको उपभोक्ता अजिमा साहको भनाई छ ।
राजधानीको रानीपोखरीमा छठ पर्व मनाइदै आएकोमा २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माण हुन नसक्दा भक्तजनका साथै सबैमा नैराश्यता छाएको छ । विगतका वर्षहरुमा रानीपोखरीमा छठपर्व मनाउँदा खर्च समेत कम लाग्ने गर्दथ्यो तर अहिले अन्य खोलाहरुमा पर्व मनाउने तयारीमा नै बढी खर्च हुने गरेको स्थानिय अनिता साहले बताईन ।
राजधानीमा छठपर्व मनाउने भक्तजनहरु सरकारले रानीपोखरी पुनर्निर्माण नगरेकोमा आक्रोस व्यक्त गर्दछन् । भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा सो भन्दा अगाडी राजधानीका सम्पुर्ण भक्तजनहरु छठ मनाउन जम्मा हुने थलो रहेको थियो । रानीपोखरीको अवस्था अहिले झन् जीर्ण बन्दै गएको छ ।
राजा प्रताप मल्लले राजधानीबासीको लागी खानेपानीको मुहानको रुपमा निमार्ण गरेको रानी पोखरीमा पछि रानीको सम्झना स्वरुप मन्दिर निर्माण गरिएको थियो । त्यस पश्चात् निकै चर्चा तथा प्रख्यात बन्न पुगेकोे रानी पोखरी भुकम्पले क्षति ग्रस्त भएपछि त्यसको पुनर्निर्माणका लागि धेरै पहलहरु भएको थियो । पुनर्निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भुकम्प दिवसका दिन शिलान्यास पनि भएको थियो तर शिल्यानास भन्दा अगाडी पुनर्निर्माण प्रकृया अगाडी बढ्न सकेन । पुनर्निर्माणको विषय विवादित बन्दै गरेको समयमा नै पुनः दोस्रो पटक काठमाडौंका मेयर र उपमेयरले शिलान्यास गर्ने काम गरेका थिए तर साठे ३ बर्ष बिति सक्दा पनि रानीपोखरी ज्यु को त्यु अवस्थामा छ ।