अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

पार्टी नेतृत्वबाट ‘दास’ जन्माउने खेल भईरहेको नेविसंघको संस्थापन इतर पक्षको आरोप

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ६:५५ मा प्रकाशित

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापन इतर समूहले पार्टी नेतृत्वबाट दास जन्माउने खेल भैरहेको आरोप लगाएको छ । १२ औं महाधिवेशन विधिवत रुपमा सम्पन्न गराउन पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराउदै उसले यस्तो आरोप लगाएको हो । सोमबार काठमाडौंको भृकुटीमण्डलस्थित बाल्मिकी क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका महामन्त्री कुन्दनराज काफ्लेले पार्टी नेतृत्व विधिवत रुपमा महाधिवेशन नगराएर टीके प्रथाबाट नेविसंघको नेतृत्व चयन गर्ने खेलमा लागेको आरोप लगाउनुभयो । उहाँले पार्टी नेतृत्वको सो कार्यलाई निस्तेज पर्न नेविसंघका नेता कार्यकतालाई आग्रह समेत गर्नुभएको छ ।

महामन्त्री काफ्लेले पार्टीका संस्थापन पक्षका नेताहरुले महाधिवेशन नगराउने मनसायले नेसिंघले सर्वसम्मत रुपमा पारित गरेको विधान पार्टीको केन्द्रीय कार्यसमितिमा पेश नै नगरि विधानको अन्तरवस्तु नकेलाई बहुमतका दम्भ देखाएर ३२ वर्षे उमेर हदको प्रावधान ल्याएको आरोप लगाउनुभयो । उहाँले टीका लगाएर नेतृत्व चयन गरिए आन्तरिक लोकतन्त्र संस्थागत गर्नका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिनुभयो । साथै उहाँले महाधिवेशनप्रति सभापति नैनसिंह महरले देखाएको उदासीनताले यस्तो अवस्था आएको बताउनुभयो ।

११ औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको म्याद गत भदौ २ गते समाप्त भएको थियो । पार्टीले महाधिवेशन सम्पन्न गर्ने गरी नैनसिंह महर नेतृत्वको म्याद ३ महिनाका लागि थप गरेको थियो । नेविसंघको वर्तमान कार्यसमितिको म्याद मंसिर २ गते सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू