नेपाली कांग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदाको प्रस्तावनामा विवाद उत्पन्न भएको छ । मंगलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको विधान संशोधन मस्यौदा प्रतिवेदनको अन्तिम तयारीमा लागि सोमबार बसेको विधान मस्यौदा समितिको बैठकमा विधानको प्रस्तावनाकै विषयमा नेताहरुबीच विवाद देखिएको हो ।
विधान मस्यौदाको प्रस्तावना, संगठन संरचनालगायतका विषयहरुमा विवाद देखिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो । उपसमितिले तयार पारेको मस्यौदामा समितिका सदस्यहरुबीच विवाद देखिएकाले मंगलबार बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुने, नहुने टुंगो नभएको नेता लेखकको भनाई रहेको छ । महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित कांग्रेस केन्द्रीय कार्य समितिको बैठक मंगलबार अपरान्ह १ बजे बोलाइएको थियो ।
तर बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन भने पेश हुन सम्भावना टरेर गएको छ । नेपाली कांग्रेसले आगामी मंसीर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको काम समेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिन पछि सार्ने गरी केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो ।