अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

पैसा भए धेरै काम गर्न सकिन्छ । तर, पैसा नभएर अघि बढ्न सकिरहेको छैन: निमित्त महावाणिज्यदूत भट्टराइ

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते २१:०१ मा प्रकाशित

राष्ट्रसंघीय महासभा हुने सेप्टेम्बर दोस्रोदेखि अन्तिम साता आर्थिक कूटनीतिका लागि ज्यादै महत्त्वपूर्ण समय हो । विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री आफ्नो देशबाट बिजिनेस डेलिगेसन सहित यहाँ आउँछन्, फच्र्युन फाइभ हन्ड्रेडका सिइओहरुसँग मिटिङ गर्छन् र उनीहरूलाई आफ्नो देशमा लगानी गरिदिन आग्रह गर्दै राष्ट्र प्रमुखजस्तो माथिल्लो तहबाट लगानीको वातावरण तथा सुरक्षाको प्रबन्ध गरिदिने आश्वासन दिन्छन् । हालै सम्पन्न राष्ट्रसंघीय महासभामा विदेशी लगानीको आवश्यकता रहेका धेरै देशका राष्ट्र प्रमुख बिजिनेस डेलिगेसन सहित अमेरिका आएका थिए । बङ्गलादेशबाटै ५ वटा बिजिनेस डेलिगेसन आएको थियो । उनीहरूले यहाँका लगानीकर्ता र व्यवसायीलाई भेटेका थिए । ती देशका दूतावास र महावाणिज्य दूतावास त्यस्ता कार्यक्रममा व्यस्त रहे ।

बिसका र समृद्धिको नारा बनाएका नेपालका प्रधानमन्त्री केपी ओलीले भने बिजिनेस डेलिगेसन त के उद्योग मन्त्री समेत ल्याएनन् । आर्थिक कूटनीतिका बारेमा चूँसम्म बोलेनन् । आर्थिक कूटनीति गर्न करिब ३ वर्ष अघि स्थापित महावाणिज्य दूतावास प्रधानमन्त्री ओलीको लजिस्टिक म्यानेजमेन्टको भूमिकामा सीमित रह्यो । प्रधानमन्त्रीको भ्रमण र आर्थिक कूटनीतिमा उनको भूमिकाबारे प्रश्न गर्दा निमित्त महावाणिज्यदूत पुष्प राज भट्टराइ बोलेनन् । तर, उनले आर्थिक कूटनीति र यसको सम्भावनाबारे धेरै कुरा बताए । उनिसंग बिआरटी नेपालका प्रधान सम्पादक लोकमणी राइले लिएको अन्तर्वाताको अंश ।

प्रश्नः राष्ट्रसंघीय महासभामा भाग लिन आएका बेला प्रधानमन्त्री केपी ओलीले आर्थिक कूटनीतिबारे के गर्नु भयो ?
उत्तर: त्यो प्रधानमन्त्रीज्यूलाई नै थाह होला । आवश्यक परे हामीलाई त्यसबारे जानकारी गराइएला । त्यसपछि बताउन सकिएला ।

प्रश्नः विश्वका विभिन्न देशका कन्सुल जनरलको कार्यालय आर्थिक कूटनीतिमा सक्रिय रहेका बेला तपाईँहरूको भूमिकै देखिएन ।
उत्तर: हामीलाई लजिस्टिक म्यानेजमेन्टसम्बन्धी जति काम दिइएको थियो, त्यो पुरा गर्‍यो । नदिएको काम त कसरी गर्ने ?

प्रश्नः नेपालबाट बिजिनेस डेलिगेसन आएको थिएन ?
उत्तर: आएन । हामीसँग यो कल्चर पनि बसेको देखिँदैन ।

प्रश्नः तपाइहरू चाहिँ के गरिरहनु भएको छ त ?
हामीले त्यस्तो धेरै काम गरेका छैनौँ । राहदानी, भिजा जस्ता नियमित कामबाहेक २ वटा काम गर्यो । एउटा, ग्रेटर न्यु योर्क चेम्बर एक्स्पोमा भाग लियौँ । त्यसमा ट्रेड एण्ड एक्स्पोर्ट प्रमोसन सेन्टरको सहभागिता रह्यो । उहाँहरूले आफ्नो पेपर प्रिजेन्टेसन गर्नुभयो । कार्यक्रममा व्यवसायीहरूसँग छलफल गर्यो । साना उद्यमीहरूसँग पनि छलफल भयो । त्यसको २ वटा उद्देश्य थियो । एउटा नेपाल र अमेरिका बिचको बढाउने र भएका कमीकमजोरी सुधार्ने । हामी कसरी अगाडि जान सकिन्छ भन्नेमा केन्द्रित रहयो । त्यसबाहेक एक्स्पोमा यहाँका नेपाली समुदाय इम्पावरमेन्ट गर्ने विषयमा केन्द्रित रहयौं ।

अर्को, हामीले कल्चरल डेको अवसरमा टुरिजम प्रमोसनको काम पनि गर्यो । टुरिजम प्रमोसनका लागि चाहिँ टुरिजम बोर्डको पैसा पनि थियो, त्यसमा हामीसँग भएको पैसा पनि थपेर एउटै भेन्युमा दुई वटै काम ग¥यौं । पर्यटन प्रवर्धनका लागि यहाँका लगभग ७५ ट्रेकिङ तथा ट्राभल एजेन्सी सहभागी थिए । त्यो भनेको ठुलो सङ्ख्या हो । हामीले कसरी पर्यटन व्यवसाय बढाउने भन्ने विषयमा अन्तरक्रिया पनि गर्यो । त्यसले सकारात्मक प्रभाव पारेको छ । पाटा भन्ने संस्थाबाट सहभागी भएका व्यवसायीहरूले २०१८ भित्रै नेपाललाई सहयोग पुग्ने खालको कार्यक्रम गर्छौँ भनेका छन् ।

अर्को चाहिँ हामीले अलि ठुलो स्तरमा नेपालको सांस्कृतिक प्रबद्र्धनको कार्यक्रम गर्ने सोचमा छौँ । त्यो अलि ठुलै स्तरमा गर्ने सोचका साथ गृहकार्यमा छौँ ।

प्रश्नः वर्षभरिमा २ वटा मात्र कार्यक्रमले भिजिट नेपाल २०२० सफल पार्न र विदेशी लगानी भित्राउन सकिन्छ ?
उत्तर: कार्यक्रम गर्न बजेट चाहिन्छ । यसपालि त बजेट पनि कम थियो ।

प्रश्नः कति थियो ?
उत्तर: टुरिजम प्रमोसन भनेर नेपाली रुपैयाँ करिब १२/१३ लाख थियो । त्यसले के टुरिजम प्रमोसन हुन्छ र ?

प्रश्नः बजेट चाहिँ कति माग्नु भएको थियो ?
उत्तर: ५०/६० लाख माग्ने गरेका छौँ । यसपालि चाहिँ सङ्घीयताका कारण बजेट घटाइयो । गत वर्ष ४३ लाख रुपैयाँ थियो । हामीले राम्रै काम गरेका पनि थियौँ । विभिन्न क्रियाकलाप भएका थिए । अहिले त्यस्तो अवस्था रहेन । पैसा असाध्यै काम छ ।

प्रश्नः पर्याप्त बजेट भए यहाँ संवाभावना कस्तो छ ?
उत्तर: स्कोप असाध्यै धेरै र असीमित छ । जुन क्षेत्रमा खोज्नुहुन्छ त्यसैमा स्कोप छ ।
उदाहरणका लागि २/४ वटा कुरा भन्न चाहन्छु । यहाँबाट १२/१५ दिनको छुट्टिमा जाने अमेरिकी कि ट्रेकिङ जान्छन्, कि एक्स्पेडिशनमा निस्किन्छन् । उनीहरूलाई सबै थाह हुन्छ । दुई अढाइ महिनाको अभ्यास, पूर्वतयारी र ओरियन्टेशन गरेका हुन्छन् । ट्रेकिङ र एक्स्पेडिशनका लागि नेपाल राम्रो छ । तर, भन्न सकेका छैनौँ ।

इन्डिया पनि पुग्ने, ब्यांकक पनि पस्ने, भुटान पनि हेर्ने, नेपाल पनि बस्ने र तिब्बततिर पनि छिर्ने खालको अर्को समूह यहाँ छ । यस्तालाई सर्कुलर टुरको प्याकेज बनाएर बेच्न सके राम्रो हुन्छ । त्यसका लागि हाम्रा ट्राभल एजेन्सी पनि अलि सक्रिय हुनुपर्छ । छलफल गर्नुपर्छ यहाँका ट्राभल एजेन्सीसँग । यहाँका ट्राभल एजेन्सीले पनि नेपाल जाने प्याकेज बेचेको देखिन्छ । कहिले काहीँ त्यस्ता प्याकेज सम्बन्धी जानकारी हामीलाई पनि पठाइदिन्छन्, खर्च यति लाग्छ भन्ने जस्ता जानकारी उल्लेख गरेर ।

सांस्कृतिक पर्यटनको सम्भावना पनि ठुलो छ । यहाँ रहेका ठुलो भारतीय समुदायसम्म हामी पुग्नै सकेका छैनौँ । यहाँ भारतको वाप्स समुदाय छ । त्यो समुदायका एक जना गुरु भारतको गुजरातबाट २१/२२ सय किलोमिटर पैदल यात्रा गरेर नेपालको मुक्तिनाथ पुगेका थिए । ती गुरु त्यो समयमा काठमाडौँ उपत्यका हुँदै गए । त्यो समयमा काठमाडौँ उपत्यकामा प्लेगजस्तो ठुलो महामारी थियो । मान्छे अकालमा मरिरहेका थिए । राजा पनि रोगले मर्ने अवस्थामा थिए । ती गुरुले राजालाई म तिमीलाई बचाइदिन्छु भने । उनले आशै छैन भने । तर, ती गुरुले राजा के के गरेर बचाइदिए । महामारी हटाउन भूमिका खेले । त्यसपछि मुक्तिनाथ गएर बसे । उनी पशुपतिनाथ पनि पुगे । वाप्स समुदायमा यो कुरा लिएर जाने हो भने त्यसलाई क्यास गर्न सकिन्छ । वाप्स इतरका हिन्दु समुदायमा पनि यसै गरी जान सकिन्छ ।

गुएनाबाट पनि भारतीय मूलका २०/४० जना हिन्दु नेपाल जाने गरेका छन् । हामीले गुएनाका कन्सुल जनरललाई भटेर पनि यस विषयमा कुरा गरेका छौँ । उहाँले म गुएनाका हिन्दु समुदायसम्म कुरा पुर्याउन भूमिका खेल्छु भन्नुभएको छ ।

पर्यटनलाई संस्कृतिसँग गाभ्ने हो भने कल्चरल प्रमोसन सबैभन्दा ठुलो कुरा हो । नेपालमा कल्चर के के छन् ? त्यसलाई एउटा कार्यक्रम आयोजना गरेर यहाँ भएको कन्सुल जनरल र पिआरओलाई पेस गर्ने हो भने त्यो धेरै प्रभावकारी हुन्छ ।

प्रश्नः पैसा नभएर काम गर्न सकिएन भन्नु भएको हो ?
उत्तर: पैसा भए धेरै काम गर्न सकिन्छ । तर, पैसा नभएर अघि बढ्न सकिरहेको छैन ।
यहाँ इकोनोमिक डिप्लोमेसीको काम गर्ने भनेर वर्षमा वार्षिक एक करोड रुपैयाँ दियो भने त्यो पैसा खर्च गर्न पनि सकिन्छ र पर्यटन प्रवर्द्धन तथा लगानी भित्र््याउने विषयमा धेरै प्रभावकारी काम गर्न सकिन्छ ।

प्रश्नः अरूले चाहिँ कसरी आर्थिक कूटनीति गर्छन् ?
उत्तर हामी आर्थिक कूटनीतिका कार्यक्रम पनि गर्न सक्दैनौ र त्यसको फलो अप पनि गर्न सक्दैनौँ । अरूको त्यस्तो छैन । उता बेजिङको एउटा सानो सिटीमा पनि मिनिस्टर भन्ने हुँदो रहेछ । त्यस्तो एउटा सिटीको मिनिस्टरको डेलिगेसन हालै सम्पन्न राष्ट्रसंघको साधारणसभाको मौका छोपेर यहाँ आयो । उनीहरूले ककसलाई भेट्नुपर्छ, भेटे । कार्यक्रम गरे । मान्छे भेला पारे । आफ्नो सिटीमा यस्तो छ उस्तो छ भन्ने देखाए । खुवाए, पियाए र गए । त्यो कार्यक्रममा मलाई पनि बोलाएका थिए । फर्केपछि उनीहरूले निमन्त्रण पठाएछन् त्यहाँ भ्रमण गर्दा लाग्ने सबै खर्च बेहोरिदिने भनेर । आपूmले खाली टिकट मात्र किन्नुपर्ने । उनीहरू त्यसरी प्याकेज दिन्छन् । यहाँ आउँछन् । खुवाउँछन्, पियाउँछन् । अतिथि सत्कारमा कुैनै कमी राख्दैनन् । अतिथि सत्कार ठुलो कुरा हो । त्यसले गहिरो छाप पार्छ । खान नै राम्रो दिन सकेनौँ भने उनीहरूले पत्याउँदैनन् । यस मामिलामा हामी असाध्यै कमजोर छौँ ।

प्रश्नः भिजिट नेपाल २०२० सफल पार्न के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई ?
उत्तर पर्यटन क्षेत्रमा काम गरिरहेका गतिला मान्छे र यात्रीहरूलाई वर्षमा कम्तीमा ५० जना लिएर जान सक्नुपर्छ । त्यो क्षमता हामीसँग हुनुपर्छ । यहाँ विभिन्न ठाउँ भ्रमण गरेर सारा जानकारी ल्याउने र अर्को यहाँ बसेर त्यो जानकारी प्रचार प्रसार गर्ने यात्री र व्यवसायीहरूको नेटवर्क छ । उनीहरू जानकारी सङ्कलन गर्छन् र प्रचार प्रसार गर्छन् । भ्रमण गरेर जानकारी सङ्कलन गर्ने यात्रीहरू नेपाल लान सकियो भने उनीहरूले त्यो ठाउँको डकुमेन्ट्री बनाउँछन् । जीवनशैली कस्तो छ, खानपान कस्तो छ, लगायतका सबै कुरा डकुमेन्ट्रीमा समेटछन र आफ्नो नेटवर्कमा हाल्छन् । यसले पर्यटकीय ठाउँ, खाना रहन सन आदि सबैको प्रवर्द्धन हुन्छ ।

प्रश्नः यस्तो काममा कति खर्च हुन्छ नि ?
उत्तर खर्च त हुन्छ । उनीहरूको व्यवसाय नै त्यही भएकाले हामीले पैसा तिरेर लानुपर्छ । तिमीहरूको पर्यटन प्रवर्द्धन गरिदिन्छौँ भनेर यस्ता व्यवसायीबाट हामीलाई प्रस्ताव पनि आउने गरेको छ । पछिल्ला पटक एउटा व्यावसायिक समूहले ७० हजार अमेरिकी डलरको प्रस्ताव गरेको थियो । नाम राम्रो याद छैन । शायद डेर्ली भन्ने महिला हुनुपर्छ । यी महिला ट्राभल र टुरिजमको क्षेत्रमा ठुलो पुरस्कार पाउन सफल चर्चित यात्री हुन् । उनले विश्वको कुन कुन देशमा के के काम गरिन भनेर वेबसाइटमा राखेकी छन् ।

प्रश्नः यस्तो प्रस्ताव के गर्नु हुन्छ ?
उत्तर यस्तो प्रस्ताव हामी माथिल्ला निकायमा पठाउँछौँ ।

प्रश्नः जवाफ के आउँछ ?
उत्तर हामीलाई जवाफ आउने गरेको छैन । योभन्दा अघि एउटा राम्रो प्रस्ताव आएको थियो महिनामा १०/१२ हजार डलर दिए पर्यटन प्रवर्द्धनको काम गरिदिन्छु भनेर । अघिल्लो कन्सुल जनरलले त्यो प्रस्ताव माथिल्लो निकायमा पठाउनु भयो । थुप्रै पटक फलो अप गर्नुभयो । तर, जवाफ आएन ।

प्रश्नः तपाईँहरूको काम गर्ने विधि चाहिँ के हो ?
उत्तर हामी माथिल्लो निकायको आदेश अनुसार चल्छौँ ।

प्रश्नः अरूले चाहिँ कसरी काम गरिरहेका छन् ?
उत्तर ओमनको कन्सुल जनरलले ५ वर्षअघि मान्छेले थाहै नाएको अजरबैजानमा ओमनसहित खाडी मुलुकका लाखौँ मान्छे हरेक वर्ष जान थालेको अनुभूति सुनाउनु भयो । त्यसको कारण त्यो देशले पर्यटक लक्षित देशको सेलिब्रेटी लगे र उपलब्ध पर्यटकीय स्थल घुमाए । जस्तो, कुनै चर्चित हलिउड सेलिब्रेटी घुम्न गएको ठाउँ पक्कै राम्रो हुन्छ भन्ने पर्नु र अरू पनि त्यो ठाउँ घुम्न जानु स्वाभाविक हो । अर्को उनीहरूले रेडियो, टेलिभिजनमा विज्ञापन गरेछन् । त्यसपछि अत्यधिक रूपमा फेसबुक, ट्विटर लगायतका सोसियल मिडिया प्रयोग गरे । ओमनको कन्सुल जनरलले ५ वर्ष अघिसम्म थाह नपाएको देशमा खाडिका जनता आइरो लाग्न थालेको अनुभूति सुनाउनु भयो । त्यसबाट हामीले सिक्नुपर्छ ।

प्रश्नः पर्यटन प्रवर्द्धन गर्ने भनेर टुरिजम बोर्डले टुरिजम रिप्रिजेन्टेटिभ पनि नियुक्त गरेको थियो । के काम भइरहेको छ ?
उत्तर: गत वर्ष टुरिजम बोर्डले टुरिजम रिप्रिजेन्टेटिभ भनेर नियुक्त गरेको मान्छे हवाईमा बस्नु हुँदो रहेछ । अलि टाढा भएकाले खासै सहकार्य भएन ।

प्रश्नः हवाई भन्ने ठाउँ पुग्नै १० घण्टा लाग्छ । टाढा हवाईमा बस्ने मान्छेबाट अमेरिकामा पर्यटन प्रवर्द्धन हुन्छ त ?
उत्तर टुरिजम रिप्रिजेन्टेटिभ स्थानीय र अनुभवी हुनुपर्छ ।

प्रश्नः लगानीको क्षेत्रमा सम्भावना कति छ ?
हाम्रो देशलाई विकासको गतिमा अघि बढाउन विदेशी लगानी चाहिएको छ । सबैभन्दा धेरै लगानी जलविद्युत र पूर्वाधारको क्षेत्रमा आवश्यक छ । सरकारले तोकेको प्राथमिकताका सबै क्षेत्रमा लगानी लैजान सकिन्छ । यहाँ केही कम्पनीहरूले पर्यटन लगायतका ५/६ वटा क्षेत्रमा लगानी गर्न तयार छौँ भनेर हामीलाई भनिरहेका पनि छन् । सोलार इनर्जीमा लगानी गर्ने भनेर यहाँबाट स्काइ पावर भन्ने कम्पनीका प्रतिनिधि गए । यो कम्पनीसँग भारत र बङ्गलादेशमा पनि सोलार इनर्जीमा लगानी गरेको विशेषज्ञता छ । नेपाल विद्युत् प्राधिकरणसँग प्रति युनिट सोलार इनर्जीको मूल्यमा नेगोशियसन पनि भइरहेको छ । मसँग कुरा हुँदा प्राधिकरणले तोकेको मूल्यमा लगानी गर्न सकिन्छ भनेका छन् । यहाँ लगानीकर्ता पर्याप्त छन् । एयरपोर्ट वा प्रसारण लाइन लगायतका पूर्वाधार विकासका हरेक क्षेत्रमा लगानी लान सकिन्छ ।

प्रश्नः सम्भावित लगानीकर्ताहरूको पहिचान पनि गर्नुभएको छ ?
उत्तर यहाँ बिजनेस कमर्सियल फर इन्टरनेशनल अन्डरस्ट्यान्डिङ र ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्स लगायतका संस्थामार्फत जान सकिन्छ । लगानीकर्ताहरू उनीहरूको नेटवर्क र सम्पर्क भित्र छन् । उनीहरूसँग कुराकानी पनि भएको छ ।

प्रश्नः कल्चर प्रमोसनबाट कसरी फाइदा हुन्छ ?
उत्तर: एउटा, यहाँ नेपाली कम्युनिटीलाई एक्नलेज्ड हुन्छन् । अर्को देशको नाम अघि आउँछ । बुद्ध, सगरमाथाको कुरा आउँछ । त्यसपछि मान्छेमा रुचि जाग्छ । त्यसपछि घुम्न जाने धारणा बनाउँला न । जस्तै, मैले जेनेभामा आयरल्याण्डको रिभर डान्स हेरेँ । त्यही कारण मलाई आयरल्यान्ड जान खुब मन लागेको छ । मौका पर्‍यो भने म जान्छ । मान्छको अट्याचमेन्ट त्यस्तो हुन्छ । हामीले हाम्रो कार्यक्रम लिएर विदेशीमाझ जान सक्नुपर्छ । कल्चर भन्ने टुरिजमको एउटा पार्ट हो । लाखे नाच देखाए कसैलाई अचम्म लाग्ला, वा अध्ययन गर्ला । झाँक्री विद्यामा पिएचडी गर्ने एउटा मान्छेलाई राजा महेन्द्रले पदक दिएका थिए ।

हामीले गत वर्ष बुद्ध र उमामहेश्वरको मूर्ती फिर्ता गर्‍यो । नेपालका धेरैलाई ती मूर्ती नेपालबाट चोरिएको हो भन्ने थाह छैन । नेपालका आर्कियोलोजिस्टलाई यहाँ पढ्न पठाउने र यहाँकालाई उता लैजाने हो भने राम्रो हुँदैन र ? त्यो पनि कल्चरको पाटो होइन र ? स्टोलन इमेजेज अफ नेपाल पुस्तकमा हाम्रो मूर्ती फेला पर्‍यो र फिर्ता गर्न सफल भयौँ । संस्कृतिको लहरो धेरै कुरासँग जोडिएको हुन्छ । राजनीति, इतिहास, भूगोल सारा कुरासँग जोडिएको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू