कार्यकर्ता हत्याको विरोधमा नेपाली काँग्रेस सर्लाहीले आइतबार जिल्ला बन्द गरेको छ । रामनगर गाउँपालिका स्थित आफ्ना कार्यकर्ताको हत्या र र ७ जना घाइते भएको घटना प्रति सरकारले वास्ता नगरेको भन्दै आइतबार सर्लाही जिल्ला बन्द आह्वान गरिएको हो । वन्दको कारण सर्लाहीको सदरमुकाम मलंगवा मा प्रभाव परेपनि अन्य स्थानमा खासै प्रभाव नपरेको जनाईएको छ । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वा गाउँमा एक कार्यकर्ताको हत्या र आधा दर्जन भन्दा बढी घाईते भएको घटनाप्रति सरकारले उदासिनता देखाएको भन्दै काँग्रेसले विरोधस्वरुप आइतबार बन्द आव्हान गरेको हो ।
घटना भएको एक साता वित्दा पनि सरकारले माग प्रति वेवास्ता गरेकाले पार्टीद्वारा पूर्वघोषित कार्यक्रम अन्तर्गत आईतबार सर्लाही जिल्ला बन्दको घोषणा गरेको नेपाली काँग्रेसबाट निर्वाचित क्षेत्र नं. ४ का संघीय सांसद अमरेशकुमार सिंहले जानकारी दिनुभयो । घटनामा नेकपा कार्यकर्ताले गोली हानेको काँग्रेसको दावी भएपनि नेकपाले त्यसको खण्डन गर्दै आएको छ ।
यसैवीच, गोली लागि मृत्यु भएका ५५ वर्षीय रामविलास महतोको शव एक साता वित्न लाग्दा पनि जिल्ला अस्पतालको शवगृहमै रहेको छ । पार्टीको माग पूरा नहुञ्जेलसम्म शव नउठाउने काँग्रेसले अडान लिंदै आएको छ ।