अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

चिया खेतीमा आकर्षण बढ्दो, नीतिगत अस्पष्टताले बजारीकरणमा भने समस्या

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ८:५७ मा प्रकाशित

नेपालको प्रमुख नगदेवाली मध्ये चिया पनि एक हो । नेपालमा विसं १९२० सालमा इलामबाट चिया खेतीको सुरुवात भएको पाइन्छ ।  तर विसं २०१६ सालमा वुधकरण टी स्टेट स्थापना भएपछि भने नेपालको तराइ क्षेत्रमा पनि चिया खेतीको विस्तार भएको जानकारहरु बताउछन् । हाल झापा सहितपूर्वका विभिन्न जिल्लाहरुमा विभिन्न प्रकारका चियाको खेती हुने गरेको छ ।
देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यावसायिक चिया खेती गरिँदै आएको छ । जसमा झापामा सवैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो ।

व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन अनुसार झापामा व्यक्तिगत तथा साना किसान १ हजार ५ सय ३२ र संस्थागत तथा ठूला बगान ६९ वटा रहेको छ । झापामा कुल खेतीयोग्य जमिनको ७ हजार १ सय ९५ दशमलव १५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । झापामा मात्रै ८ करोड २५ लाख १७ हजार केजी चिया उत्पादन हुने गरेको नेपाल चिया तथा कफी विकास वोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि प्राविधिक नवीन कोइरालाले जानकारी दिए ।

देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । हाल नेपालका ११ हजार ४१ वटा बगानहरूमा चिया खेती गरिँदै आएको छ । जसमा झापामा मात्रै १ हजार ६ सय ३१ मा चिया खेती हुने गरेको छ । इलाममा ६ हजार ९ सय ९५ र सिन्धुपाल्चोकमा ८ वटा बगानमा चिया खेती हुँदै आएको छ ।

व्यावसायिक चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये एक हेक्टरभन्दा कम क्षेत्रफलमा ८२ दशमलव ३ प्रतिशत किसानले चिया खेती गर्दै आएका छन् । त्यस्तै एक हेक्टरभन्दा माथि १० हेक्टरसम्म १६ दशमलव ५ प्रतिशत, १० हेक्टरभन्दामाथि २० हेक्टरसम्म ० दशमलव ४ प्रतिशतले र २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्ने किसानको संख्या ० दशमलव ८ प्रतिशत रहेको सरकारी तथ्यांक छ । तर चिया खेती गर्नेमध्ये ५९ प्रतिशतले परम्परागत खेती गर्दै आएको केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत किशोर केसीले बताए ।

नगदेवालीको रूपमा रहेको चिया खेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती बिक्री गरेर वार्षिक १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेको जानकारहरु बताउछन् । चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये ४.५ प्रतिशतले मात्रै आफ्नो चिया खेती व्यवसाय दर्ता गरेर सञ्चालन गर्दै आएका छन् ।

नेपाली चिया उत्पादन तथा प्रशोधनका लागि सरकारी स्तरबाट विसं २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना गरेर चिया खेतीको व्यावसायिकतालाई विश्व बजारसम्म पु¥याउन पहल भएको पाइन्छ । नेपालमा मूलतः सीटीसी, अर्थाेडक्स र ग्रीन टी उत्पादन हुँदै आएको छ ।

२७ हजार हेक्टर क्षेत्रफलमा चियाखेती गरेर नेपाल चियामा आत्मनिर्भर भए पनि चियाको व्यवसायीकरण अझै हुन सकेको छैन । चिया विकास निगमले सन् १९८७ मा चिया अक्सन केन्द्र शुरुवात गरेको थियो । आर्थिक बर्ष २०७५÷०७६ मा बजेट विनियोजन नगरिँदा अक्सन सञ्चालन गर्ने विषय अलपत्र परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ ।नेपालमा चिया अक्सन सञ्चालन गर्न सरकारले २०७२ सालमा निर्देशिका नै जारी गरे पनि हाल आएर बजेट नछुट्याउँदा चियाको अक्सन केन्द्र अलपत्र परेको बताइएको छ ।

स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारमध्ये कसले चियाको प्रर्बद्धन र बजारीकरणका लागि नीति तथा कानूनको स्पष्ट व्यवस्था नहुँदा चिया किसान, उद्योगी र मजदुर अप्ठ्यारोमा परेका छन् ।

नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानडा, जापान, चीन लगायतका मुलुकमा निकासी हुने गरेको छ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि चिया वगानमा काम गर्ने श्रमिकको समस्यामा सरकार उदाशीन रहेको मजदुरहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू