अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

अस्पतालबाट छिट्टै फर्केर समृद्ध नेपालको सपना साकार पार्ने प्रतिवद्धता

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ८:५० मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले मंगलवार जारी गर्नुभएको सन्देशमा भनिएको छ– “चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” । “विगतमाझैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ –“सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”
प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफूले महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गर्नुभएको छ ।

एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्दै त्यसमा आफू संवेदनशील भएको वताउनुभएको छ । “ धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन” प्रधानमन्त्रकिो सन्देशमा भनिएको छ – “ यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।” दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सद्भाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा रहेको छ । शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको महाअभियान विथोलिने र विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराउनुभएको छ ।

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंगविदेशी कुटनीतिक नियोग, कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यसैवीच, प्रधानमन्त्री केपी शर्मा ओलीको रगत परीक्षण र छातीको एक्स – रे रिपोर्ट सकारात्मक रहेको अस्पतालले जनाएको छ । उहाँको मंगलबार बिहान उक्त परीक्षण गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको उपचार डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दासको टोलीले गरिरहेको छ । यस अघि चिकित्सकले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित भएको बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू