अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

चर्चामा गायिका मेनुका पौडेल – ‘नेपाल आइडल’ टप–११ देखि ‘सारेगमप’ सम्म

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ३:२७ मा प्रकाशित

चर्चित नेपाली टेलिभिजन गायन रियालिटी सो नेपाल आईडल सिजन–१ की टप–११ प्रतिष्पर्धी मेनुका पौडेल पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । जि टिभीबाट प्रसारित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ मा सहभागी भएर कर्णप्रिय गीत गाएसंगै उनको चर्चा चुलिएको हो । नेपालमा अहिले दुईवटा सिंगिङ रियालिटी शो ‘नेपाल आइडल’ र ‘दि भ्वाइस अफ नेपाल’ चलिरहेका बेला भारतमा गायिका मेनुका पौडेलको सर्वत्र चर्चा भैरहेको छ ।

सांगितिक यात्रामा आफ्नो पाईला अगाडि वढाउदै लैजाने क्रममा गायिका मेनुकाले सारेगमपमा लता मंगेशकरको आवाजका रहेको ‘जाने क्या बात है…’ बोलको गीत गाएकी थिइन् । उनको स्वर तथा प्रस्तुतिको भारतीय संगीत उद्योगका हस्तीहरुले निकै प्रशंसा गर्दै मेनुकाको गायकीवाट आफूहरु नतमस्तक भएको वताएका छन् । मेनुकाले गीत गाउँदा शोमा उपस्थित जजसँगै जुरी मेम्बरले आँशु मात्रै झारेका थिए भने जज तथा उपस्थित सबैले स्ट्याण्डिङ ओभिसनसमेत दिएका थिए । संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको स्वरको मुक्त कण्ठले प्रशंसा गरेका छन् । भारतीय सांगीतिक रियालिटी शो ‘सारेगामप’का निर्णायक रबजानी, मोहपत्रा र खानले मेनुकाको स्वरको प्रशंसा गर्दै उनको स्वरको जज गर्ने हैंसियत आफुहरुमा नभएको वताएका छन् ।

नेपालमा पहिलोपटक अडिसन लिएको गायन रियालिटी शो ‘सारेगमप’ मा मेनुका अडिसन राउन्डबाट छनोट भएकी थिईन् । यसअघि, मेनुका ‘नेपाल आइडल’ सिजन वनको उत्कृष्ट एघारबाट बाहिरिएकी थिइन् । दर्शकको भोटका आधारमा उनी प्रतियोगिताबाट बाहिरिनु परेको थियो ।
नेपाल आईडलबाट वाहिरिएपछि मेनुकाले भारतीय सिंगिङ रियालिटी शो मध्येकै प्रतिष्ठित मानिने ‘सारेगमप’ मा जाने तयारी थालेकी थिईन् ।

कोलकोता अथवा मुम्बईबाट अडिसन दिने मेनुकाले तयारी गरिरेका बेला पहिलो पटक अडिसन नेपालबाटै दिन पाइने भएपछि दृष्टिविहीन गायिका मेनुकालाई थप सहज भयो । उनले प्रतियोगितामा सहभागी हुन प्रि–अडिसनका लागि भिडियो पठाएकी थिईन् । लेवल वनको अडिसनमा छनोट भएपछि मेनुकाको लेवल टुको अडिसन लिन ‘सारेगमप’ काठमाडौं आएको थियो । काठमाडौं अडिसन पनि पार गरेपछि मेनुकालाई ‘सारेगमप’ले लेवल थ्रिको अडिसनका लागि कोलकाता बोलाइएको थियो । त्यो अडिसनले पनि ग्रिन कार्ड दिएपछि उनलाई अन्ततः दर्शकले जी टिभीमा हेर्न पाएका हुन् ।

 

प्रतिक्रिया