अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

नवलपरासी, तनहुँ, स्याङ्जा र मोरङ्गमा वस दुर्घटना, ७ जनाको मृत्यु, १०० जना भन्दा वढी घाईते

बिआरटीनेपाल २०७५ कार्तिक ४ गते ९:२४ मा प्रकाशित

नवलपरासी, तनहुँ, स्याङ्जा र मोरङ्गमा भएका छुट्टाछुट्टै वस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा १०० जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आइतबार बिहान ५ बजे यात्रुवाहक रात्री वस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । ५ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी १६ जना घाईते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनामा मृत्यु हुने मध्ये जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका कर्मचारी अब्दुल अन्सारी र नेपाली सेनामा कार्यरत गुल्मी हातचौर गाउँपालिका २ का ३५ वर्षका तिलक बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । मृत्यु हुने अन्यमा मोरंगका १२ वर्षका सहुन कार्की, भोजपुरका रामजित राई, भारतीय नागरिक विद्यानन्द यादव रहेका छन् । वसमा अत्याधिक यात्रु रहेको र चालक निदाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

तनहूँमा बस दुर्घटना, ३३ जना घाइते

तनहुँको नारीघाटमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । बेसिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको बस आबुखैरेनी गाउँपालिकाको नारीघाटमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आइतवार अपरान्ह करिब २ः४५ वजे भएको दुर्घटनामा परि ३३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी हवल्दार पहल थापाले जानकारी दिनुभयो ।

हवल्दार थापाका अनुसार घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सवैको अवस्था सामान्य रहेको छ । बस तीव्र गतिमा रहेको र सिट क्षमता भन्दा बढी यात्रु बसमा सवार रहेकोले दुर्घटना भएको स्थानीयले वासिन्दाले वताएका छन् ।

स्याङ्जामा जिप दुर्घटना, १ जनाको मृत्यु, १९ घाइते

स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आइतबार अपरान्ह जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ जादैै गरेको लु १ ज ३३८० नम्बरको जिप कच्ची ओरालो बाटोमा ‘ब्रेक फेल’ भई पल्टिँदा गल्याङ–७ बस्ने ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका गल्याङ–७ का पुरन सुनार, ललित गुरुङ, भुमा श्रेष्ठ, आनन्द भण्डारी, तीर्थप्रसाद श्रेष्ठ, देवी सापकोटा र गल्याङ–८ बस्ने सङ्गीता खनाललाई गल्याङ हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

मोरङ्गमा बस दुर्घटना, ३६ जना घाइते

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभएको छ । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू