अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

अपराधलाई निस्तेज पार्न समन्वय आवश्यकः गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:३१ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने वताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने वताउनुभयो । गृहमन्त्री थापाले प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गर्नुभएको छ । प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा व्यक्त गर्दै मन्त्री थापाले सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गर्नुभयो ।

कार्यक्रममा वोल्दै गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने भएमा शान्ति र सुरक्षा व्यवस्थित हुने वताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५ औँं योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रहरी सुधारको मार्गचित्रको रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा आएको उल्लेख गर्दै पूर्ण अपनत्व लिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरिने वताउनुभयो । कार्यक्रममा उनीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवधारणाबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू